बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकामा बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली तथा केस रिपोर्टिङ प्रणालीको सुदृढीकरण र घटना प्रतिवेदनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर उपप्रमुख एवं नगरस्तरीय बाल अधिकार समितिका अध्यक्ष रत्नकुमारी पाण्डेले बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा बाल विवाहजस्ता हानिकारक अभ्यासहरूको अन्त्यका लागि स्थानीय सरकार, सुरक्षा निकाय, विद्यालय, समुदाय तथा सबै सरोकारवालाहरू जिम्मेवार, संवेदनशील र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले जोखिममा रहेका बालबालिकाको समयमै पहिचान, प्रभावकारी संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्न तथा केस रिपोर्टिङ प्रणालीको व्यवस्थित र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका मुख्य उद्देश्यहरूमा बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली तथा केस रिपोर्टिङ प्रणालीलाई प्रभावकारी, व्यवस्थित र संस्थागत बनाउने, बाल संरक्षणसम्बन्धी घटनाको पहिचान, अभिलेखीकरण, रिपोर्टिङ तथा केस व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, जोखिममा रहेका बालबालिकाको समयमै पहिचान, संरक्षण, आवश्यक सेवाका लागि प्रेषण तथा नियमित अनुगमन सुनिश्चित गर्ने र स्थानीय तह, प्रहरी, विद्यालय, बाल क्लब तथा अन्य सरोकारवालाहरूबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने रहेका थिए।
कार्यक्रममा वर्तमान अवस्था तथा प्रयोग, बाल संरक्षणसम्बन्धी घटनाको पहिचान र रिपोर्टिङ, केस व्यवस्थापन प्रक्रिया, आवश्यक सेवाका लागि प्रेषण तथा अनुगमन, तथ्याङ्कको गुणस्तर, सूचनाको गोपनीयता र तथ्याङ्कको सुरक्षित व्यवस्थापनलगायतका विषयमा विस्तृत छलफल तथा व्यावहारिक क्षमता अभिवृद्धि गरिएको थियो।
कार्यक्रमले सहभागीहरूबीच बाल संरक्षणसम्बन्धी घटना पहिचान, रिपोर्टिङ तथा व्यवस्थापन प्रक्रियाबारे साझा बुझाइ विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, स्थानीय तहमा विद्यमान बाल संरक्षण संयन्त्रलाई थप व्यवस्थित, जवाफदेही र प्रभावकारी बनाउँदै जोखिममा रहेका बालबालिकालाई समयमै आवश्यक सेवा, संरक्षण र सहयोग उपलब्ध गराउन सम्बन्धित सरोकारवालाहरूबीचको समन्वय, सहकार्य तथा संस्थागत प्रतिबद्धता अभिवृद्धि भएको छ।
नगर उपप्रमुख एवं नगरस्तरीय बाल अधिकार समितिका अध्यक्ष रत्नकुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख छविलाल थारूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक भट्टराई, विभिन्न वडाका वडा अध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, नगरस्तरीय बाल अधिकार समितिका सदस्यहरू, बाल क्लब, एल्मुनी क्लबका प्रतिनिधिहरू तथा अन्य सम्बन्धित सरोकारवालाहरू गरी ३५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण युवराज पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले गर्नुभएको थियो। कार्यक्रममा बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्मा तथा फिल्ड सुपरभाइजर डम्मर परियारको समेत उपस्थिति रहेको थियो।
बालबालिकाको सुरक्षा केवल कुनै एक निकायको जिम्मेवारी नभई हामी सबैको साझा दायित्व हो। प्रभावकारी सूचना व्यवस्थापन, समयमै घटना रिपोर्टिङ, संवेदनशील केस व्यवस्थापन र सुदृढ समन्वयमार्फत प्रत्येक बालबालिकाको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न सकिन्छ।
त्यसैले बाल संरक्षण प्रणालीलाई अझ प्रभावकारी, जवाफदेही र दिगो बनाउँदै हिंसामुक्त, सुरक्षित तथा बालमैत्री समाज निर्माणका लागि सबै सरोकारवालाहरू एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो।