नेपालगञ्ज, ५ मसिंर। बाँकेका स्थानीय तहहरूमा पोषण सुधारका कार्यक्रम सञ्चालन, बजेट विनियोजन र कार्यान्वयनको अवस्था फरक–फरक देखिएको छ। कतिपय पालिकाले पोषण सुधारका लागि बजेट विनियोजन गरेको भए पनि केही पालिकामा पर्याप्त बजेटको अभाव रहेको स्वास्थ्य शाखाका प्रतिनिधिहरूले बताएका छन्। पोषणमैत्री वडा घोषणा गर्ने योजना बनाएका पालिकाहरूले समेत सन् २०३० सम्म निर्धारित लक्ष्य पूरा गर्न चुनौती रहेको औँल्याएका छन्।
लुम्बिनी प्रदेश सरकार तथा लुम्बिनी प्रदेश योजना आयोगको आयोजना र जिल्ला समन्वय समिति बाँकेको समन्वयमा बहुक्षेत्रीय पोषण योजना तेस्रोको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका समन्वय अधिकारी हरिप्रसाद देवकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखाले पोषणको अवस्थाबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदन प्रस्तुतिका क्रममा पालिकाहरूले पोषण सुधारका लागि सञ्चालन गरिएका गतिविधि, बजेटको अवस्था, कार्यक्रम कार्यान्वयनका चुनौती तथा आगामी योजनाबारे जानकारी गराएका थिए। कतिपय पालिकाले पोषणमैत्री वडा घोषणा गर्ने योजना अघि सारेका छन् भने बजेटको उपलब्धता र समयमै बजेट प्राप्त नहुँदा कार्यक्रम सञ्चालनमा कठिनाइ हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले प्रदेशमा बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले पोषण सुधारका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा साझेदार संस्थाहरूको समन्वयमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
नागरिकको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले बहुक्षेत्रीय पोषण योजना तेस्रो २०८०र८१ देखि २०८७र८८ सम्म सञ्चालन भइरहेको छ। योजनाले पोषण विशेष, पोषण संवेदनशील, पोषणमैत्री प्रणालीगत पद्धति तथा सामाजिक उत्तरदायित्वलाई मुख्य उद्देश्यका रूपमा समेटेको छ। योजनाअन्तर्गत सातवटा विषयगत क्षेत्रमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी कार्यक्रममा दिइएको थियो।
प्रदेशमा समग्र पोषण अवस्था सुधारोन्मुख देखिए पनि किशोरकिशोरीमा रक्तअल्पताको समस्या चुनौतीका रूपमा रहेको प्रस्तुतीकरणमा उल्लेख गरिएको थियो। बाँके र कपिलवस्तुपछि बर्दियामा समेत किशोरकिशोरीमा रक्तअल्पताको समस्या देखिएको जानकारी दिइएको छ। बाँकेका कतिपय पालिकामा कुपोषण, रक्तअल्पता तथा बालबालिकामा कम तौलजस्ता समस्या अझै रहेको औँल्याइएको थियो।
कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रमका प्रदेश संयोजक नरबहादुर विश्वकर्माले चालु आर्थिक वर्षमा पोषण कार्यक्रमका लागि बजेटको अवस्था अघिल्ला वर्षभन्दा राम्रो रहेको बताउनुभयो। बजेट समयमै फुकुवा गरिएकाले उपलब्ध स्रोतको सदुपयोग गर्दै कार्यक्रम सञ्चालन गर्न उहाँले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। कार्यक्रम सञ्चालनमा कुनै समस्या भए सम्पर्क गर्नसमेत उहाँले आग्रह गर्नुभयो।
केयर नेपालकी हेल्थ एण्ड न्युट्रेसन अफिसर भारती केसीले गत वर्ष बाँकेमा १० जना बालबालिकाको मृत्यु भएको जानकारी दिँदै पोषणसम्बन्धी समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। पोषण समस्यामा परेका बालबालिकाको केस ट्र्याकिङ प्रभावकारी हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै उहाँले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
वि ग्रुपकी कार्यक्रम संयोजक सुजाता आचार्यले पोषण सुधारका लागि महिला सशक्तीकरणसँग सम्बन्धित कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो। आम महिलामा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सरकारले तयार पारेको ‘पोषण चौतारी’ पोडकास्ट तथा आमाहरूको व्यवहार परिवर्तनमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको ‘सपनाको संसार’ एनिमेटेड भिडियो युट्युबमा उपलब्ध रहेको जानकारी दिँदै उहाँले ती सामग्री गाउँगाउँसम्म पुर्याउन आग्रह गर्नुभयो।
पोषण सुधारका कार्यक्रम संघ, प्रदेश तथा स्थानीय सरकारको बजेटसँगै वि ग्रुप, केयर नेपाल, युनेस्को क्लब लगायतका साझेदार संस्थाहरूको सहकार्यमा सञ्चालन हुँदै आएका छन्। समीक्षा गोष्ठीमा पोषण कार्यक्रमको उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।