भेषराज बस्नेत । सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्गमले बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटनको लागि नयाँ ‘ब्राण्ड’ बन्दै गएको छ ।
नेपालगञ्जबाट आधा घण्टाको यात्रामै पुग्न सकिने बाँके राष्ट्रिय निकुञ्ज प्रकृतिसँग साक्षात्कार गर्ने, वन्यजन्तुलाई नजिकबाट नियाल्ने र जङ्गलको मौनताभित्र रोमाञ्चक अनुभव बटुल्ने गन्तव्य बनेको छ । वर्षायाम सकिएसँगै सुरु भएको हिउँदको यो खुला मौसम, चिसो हावा र हरियालीको सुवाससँगै सुरु भएको जङ्गल सफारीले बाँकेमा पर्यटनको नयाँ सम्भावना र ऊर्जा थपिदिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले पश्चिम नेपालमा पर्यटन प्रवर्द्धनको लागि बाँके राष्ट्रिय निकुञ्ज नयाँ ब्राण्ड बनेको बताउनुभयो । टाढाका पर्यटकीय गन्तव्यको चर्चा गर्दा आफ्नै नजिकको सम्भावनालाई बिर्सने हाम्रो प्रवृत्तिलाई बदलेर अब बाँके निकुञ्जमै पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । “घुम्नका लागि सधैँ टाढा पुग्नुपर्दैन ।
कहिलेकाहीँ आफ्नै वरिपरि लुकेका प्रकृतिको संसार चिन्न र त्यसलाई अरु माझ चिनाउनु नै पर्यटन विकासको पहिलो पाइला हुन्छ,” अध्यक्ष ओलीले भन्नुभयो, “वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ । हिउँदमा जङ्गलको दृश्य, वन्यजन्तुको गतिविधि नियाल्ने अवसर र खुला मौसमले सफारीलाई फरक अनुभव दिन सक्छ ।”
उहाँका अनुसार जीपमा बसेर जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पति नियाल्नु र जङ्गलको विशालतालाई महसुस गर्नु आफैँमा एउटा विशेष अनुभव हो । समयले साथ दिए बाघ, हात्ती, चित्तल, नीलगाई वा अन्य वन्यजन्तुको झलक देख्न पाउनु यात्राको अविस्मरणीय क्षण बन्न सक्छ ।
जङ्गल सफारीको वास्तविक आनन्द, प्रकृतिको वातावरणमा रमाउनु र वन्यजन्तुलाई उनीहरुको प्राकृतिक बासस्थानमै सम्मानपूर्वक अवलोकन गर्नुमा छ । हिउँदे मौसममा परिवार, साथीभाइ, विद्यार्थी समूह, प्रकृति प्रेमी र फोटोग्राफीमा रुचि राख्नेहरुका लागि यो आकर्षक गन्तव्य बन्न सक्छ । सीमित समय र बजेटमा छोटो यात्रा गर्न चाहनेहरुका लागि पनि नेपालगञ्ज आसपासको यो प्राकृतिक सम्पदा राम्रो विकल्प रहेको उहाँको भनाइ छ ।
पर्यटनको ब्राण्ड
बाँके राष्ट्रिय निकुञ्जको महत्व वन्यजन्तु संरक्षणमा मात्र सीमित छैन । यसले बाँके जिल्लाको पर्यटन पहिचान विस्तार गर्ने, स्थानीय अर्थतन्त्रमा नयाँ गतिविधि थप्ने र नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन प्रवेशद्वारका रुपमा स्थापित गर्ने सम्भावना बोकेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताउनुभयो ।
“कुनै गन्तब्य आफैँ चर्चित हुँदैन । त्यसका लागि निरन्तर प्रचार, सहज पहुँच, गुणस्तरीय सेवा, स्पष्ट पर्यटकीय प्याकेज र पर्यटकले अनुभव सुनाउने वातावरण चाहिन्छ,” उहाँले भन्नुभयो, “पर्यटन विकासमा निजी क्षेत्रको भूमिका निर्णायक हुन सक्छ । होटल व्यवसायी, ट्राभल्स तथा टुर सञ्चालक, यातायात व्यवसायी, रेष्टुरेन्ट, स्थानीय उद्यमी, सञ्चार माध्यम र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले यस निकुञ्जलाई साझा गन्तब्यका रुपमा प्रचार गर्न सक्छन् ।”
उहाँका अनुसार, नेपालगञ्जका होटलहरुले पाहुनलाई स्वागत गर्दा वा पर्यटनसम्बन्धी जानकारी दिँदा निकुञ्ज सफारीको विकल्प प्रस्तुत गर्न थालेका छन् । होटलमा बस्ने पर्यटकलाई एकदिने जङ्गल सफारी, स्थानीय खानपान र आसपासका गन्तव्य समेटिएको प्याकेज उपलब्ध गराउन सकिन्छ ।
निजी क्षेत्रले प्रचारमा लगानी गर्दा त्यसको लाभ एउटै व्यवसायमा सीमित हुँदैन । पर्यटकको आवागमन बढेमा होटल, याताया, खानपान, गाइड सेवा, स्थानीय उत्पादन र साना उद्यम सम्म आर्थिक गतिविधि फैलिन सक्छ । त्यसैले निकृञ्चको ब्राण्डिङलाई बाँकेको साझा आर्थिक अभियानका रुपमा बुझ्नुपर्ने उहाँको सुझाव छ ।
पर्यटन प्रवर्द्धन गर्दै तारे होटल
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनको लागि यहाँका तारे होटल पनि सक्रिय छन् । निकुञ्जमा पाँचवटै जङ्गल सफारी रुट सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन प्रवद्र्धन र पर्यटक आकर्षणका लागि बाँकेका तारे होटल व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटक, विशेषगरी भारतीय पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज र कोहलपुरस्थित तारे होटलहरूले विशेष ‘सफारी प्याकेज’ तयार पार्ने तयारी तीव्र बनाएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा जिल्लामा पर्यटकको आगमन र बसाइ अवधि बढाउने उद्देश्यले होटल व्यवसायीहरूले निकुञ्ज प्रशासन र स्थानीय होमस्टेसँगको सहकार्यमा एकीकृत पर्यटन प्याकेज निर्माणको पहल थालेको नेपाल पर्यटन बोर्ड, नेपालगञ्जका अध्यक्ष डिल्ली रेग्मीले बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्याप्त पर्यटकीय सम्भावनालाई प्रभावकारी रूपमा स्थापित गर्न होटल व्यवसायीहरूलाई नै योजनाको केन्द्रमा राखेर पर्यटक आकर्षित गर्ने रणनीति अघि बढाइएको उहाँले बताउनुभयो ।
रेग्मीका अनुसार, निकुञ्जको पर्यटन प्रवर्द्धनलाई होटल व्यवसायसँग जोड्दै पर्यटकका लागि सहज, आकर्षक र व्यवस्थित प्याकेज निर्माण गर्न बाँकेका तारे होटल सञ्चालकलाई सहभागी गराएर उनीहरूकै अनुभव, लगानी र व्यावसायिक क्षमताको उपयोग गर्दै सफारी प्याकेजको योजना बनाउने काम भइरहेको छ ।
प्रस्तावित प्याकेजमा होटलदेखि निकुञ्जसम्मको यातायात व्यवस्था, अनुभवी पथप्रदर्शक ९गाइड०, निकुञ्ज प्रवेश शुल्क, जिप सफारी तथा स्थानीय परिकारको स्वादलगायतका सेवा समेटिनेछन् । यसले पर्यटकलाई एउटै प्याकेजमार्फत सम्पूर्ण सेवा उपलब्ध गराउनुका साथै स्थानीय समुदाय, होमस्टे र होटल व्यवसायलाई समेत प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ ।
जङ्गल सफारीसँगै पर्यटन चहपहल
वर्षायाममा रोकिएको जङ्गल सफारी पुनःसुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ । मनसुन सकिएसँगै हरियालीले सजिएको निकुञ्जका कच्ची बाटाहरू मर्मत गरी पर्यटकका लागि जङ्गल सफारी पुनःखुला गरिएको गाभर भ्याली सामुदायिक होमस्टे घरवासका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।
उहाँका अनुसार, नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जका रूपमा चिनिने बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधतले भरिपूर्ण छ । यहाँ पाइने दुर्लभ र संरक्षित वन्यजन्तु ‘चौसिङ्गा’ ९चारवटा सिङ भएको मृग० यस निकुञ्जको मुख्य पहिचान हो । चौसिङ्गासँगै पाटेबाघ, हात्ती, गैँडा, चितुवा, र विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको अवलोकन गर्न पाउँदा यहाँ पुग्ने जो कोही रोमाञ्चित हुन्छन् ।
यसपटक पर्यटकलाई आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले विशेष छुटसहित मात्र रु एक हजारको नयाँ प्याकेजसमेत सार्वजनिक गरेका छन्, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ । योे प्याकेजले मध्यमवर्गीय र युवा पर्यटकलाई निकै आकर्षित गरेको छ ।
यस प्याकेजले कम खर्चमै जङ्गल सफारी र वन्यजन्तु अवलोकनको अनुभव दिलाउने चौधरीले बताउनुभयो । “बर्सातपछि जङ्गलको रूप नै फेरिएको छ । चारैतिर हरियाली र ताजा हावा छ, “गाभर भ्यालीका अध्यक्ष चौधरीले भन्नुभयो, “जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिले स्वागत गर्न आतुर छौँ ।”
बाँके राष्ट्रिय निकुञ्जप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलका अनुसार, आर्थिक वर्ष २०८२÷८३ मा निकुञ्चमा एक हजार ४६६ पर्यटक पुगेका थिए । अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या ६२० र २०८०÷८१ मा ४४४ थियो । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनको लागि निजी क्षेत्रसँग समन्वय गरेर योजनाका साथ अगाडि बढेको निकुञ्जका प्रमुख वार्डेन कँडेलले बताउनुभयो ।
बाघको सङ्ख्या दोब्बर बढ्योे
बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । रािष्ट्रय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको सङ्ख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो । सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जमा सबैभन्दा पहिले २०१३ सालमा बाघको सङ्ख्या चार रहेकामा २०१८ सालमा बढेर २१ पुगेको थियो ।
प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको बताउनुभयो । “बाघको सङ्ख्या थपिदै जाँदा मानव वन्यजन्तु द्वन्द्वको विषयले ठूलो चुनौती थपिएको छ, तर यसको साझा प्रयासबाट निष्कर्षमा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “बाघबाट हुने क्षति कम गर्न र चोरी शिकारी नियन्त्रणका लागि सधै चनाखो रुपमा काम हुँदै आएको छ, हामीले चुरे पहाडबाट पनि पानी ल्याएका छौँ र केही सोलार प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानीपोखरीको व्यवस्थापन गरेका छौँ ।”
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो । निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ ।
यस निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । यहाँ जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तरराष्ट्रियस्तरमै दुर्लभ चरा रहेका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमि क्षेत्रलाई समेटेर निकुञ्जसँगै यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको थियो ।
–––