नेपालगन्ज । बाँकेका मधेसी तथा मुस्लिम समुदायका महिलाको नेतृत्व तहमा सहभागिता अझै अपेक्षाकृत कमजोर छ । सामाजिक तथा पारिवारिक बन्देजका कारण धेरै महिलालाई घरबाहिर निस्कनसमेत सहज छैन । यस्तो अवस्थामा विभिन्न सरकारी तथा गैरसरकारी निकायको पहलमा नेपालगञ्ज उपमहानगरपालिका–२१, पुरैनाका महिलाहरू सीप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन् ।
उनीहरू आफूसँग भएको सीपलाई डिजिटल माध्यमसँग जोडेर आर्थिक उपार्जनको नयाँ बाटो खोजिरहेका छन् । नेपालगञ्ज–२१ पुरैनाकी आसिया कवडियासँग हस्तकलाका सामग्री बनाउने सीप छ । गमला, झालर लगायतका सामग्री बनाउने उहाँ अब आफ्नो सीपलाई डिजिटल माध्यममार्फत बजारसम्म पुर्याउन सकिने सम्भावना देख्न थाल्नुभएको छ ।
सामाजिक सञ्जालको प्रयोग गरेर आफूले बनाएका सामग्री बिक्री गर्न सके आर्थिक उपार्जनको नयाँ अवसर सिर्जना हुने उहाँको अपेक्षा छ । नेपालगञ्ज–२१ पुरैना मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र हो । यहाँका धेरै महिला उच्च शिक्षाको अवसरबाट वञ्चित छन् ।
अधिकांश महिला कृषि तथा घरायसी काममा निर्भर छन् । तर उनीहरू पनि आर्थिक रूपमा सक्षम बन्न र समाजमा आफ्नो पहिचान स्थापित गर्न चाहन्छन् । महिलाहरूलाई आफ्नो अधिकार प्राप्त गर्न र सामाजिक रूपमा अघि बढ्न सरकारी सहयोगको आवश्यकता रहेको पुरैनाकी रिना सिद्धिकी बताउनुहुन्छ ।
मधेसी तथा मुस्लिम समुदायका महिलाको अधिकार, नेतृत्व विकास र आर्थिक सशक्तीकरणका क्षेत्रमा फातिमा फाउण्डेसन नेपाल, नेपालगञ्जले २ दशक बढी समयदेखि काम गर्दै आएको छ । फाउण्डेसनकी कोषाध्यक्ष सुवेदा फरहिन २० देखि ३० वर्ष उमेर समूहका महिलाको आवाज बुलन्द गर्दै उनीहरूका सवाल सरकारसम्म पुर्याउने र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले रिभा परियोजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बताउनुहुन्छ ।
फातिमा फाउण्डेशन र सोल्युसन इन्टरनेशनल प्रालि नेपालगन्जको संयुक्त आयोजनामा सञ्चालित तालिमलाई रिभा ग्रान्ट्स फ्यासिलिटीको सहयोग रहेको थियो ।
दुई महिनाको छोटो अवधिको परियोजना भए पनि मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज वडा नम्बर २१ पुरैनालाई कार्यक्रमको कार्यक्षेत्र बनाइएको उहाँ बताउनुहुन्छ ।
यसका अतिरिक्त नेपालगञ्जका वडा नम्बर १४ र १५ मा किशोरकिशोरीका समूह गठन गरी बालविवाह न्यूनीकरण, महिला सशक्तीकरणलगायतका कार्यक्रमसमेत सञ्चालन भइरहेको फाउण्डेसनले जनाएको छ।
पुरैनाका मोहिनी राढ र वास्मती काँदुका लागि यस्ता कार्यक्रम नयाँ अनुभव बटुल्ने अवसर बनेका छन् । विभिन्न तालिममा सहभागी भएपछि आफ्नो परिचय दिन, आफ्ना कुरा राख्न र आफ्ना अनुभव सुनाउन सिकेको उनीहरू बताउँछन् । सिलाइकटाइ तथा गमला बनाउनेजस्ता आफूसँग भएका सीपलाई आयआर्जनसँग जोड्न सके आत्मनिर्भर बन्न सकिने उनीहरूको आशा छ।
सीप भएर पनि बजारसम्म पहुँच नहुँदा धेरै महिलाका लागि आर्थिक आत्मनिर्भरता अझै चुनौतीपूर्ण छ । पुरैनाका महिलाहरू अहिले आफ्नो सीपलाई डिजिटल मिडियामार्फत बजारसम्म पुर्याउने र आर्थिक उपार्जन गर्ने अपेक्षामा छन् । उनीहरूको यो प्रयासले आर्थिक आत्मनिर्भरतासँगै परिवार र समाजमा आफ्नो निर्णय क्षमता तथा नेतृत्व विकासको आधारसमेत तयार गर्ने आशा गर्न सकिन्छ ।