डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदीको सिधनियाघाटमा कार्तिक पूर्णिमाको अवसरमा आयोजना गरिएको तीनदिने ‘कार्तिक पूर्णिमा मेला, धनुष यज्ञ तथा भण्डारा कार्यक्रम’ आजदेखि शुभारम्भ भएको छ ।
श्री अष्टोत्तरशत शिवलिङ्ग विश्वंभरनाथ मन्दिर विकास कोषको आयोजनामा सञ्चालन भएको मेलाको धार्मिक परम्पराअनुसार माता जानकी निरौलाजीले पूजापाठ गरी धनुष यज्ञको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा मन्दिरका पुजारी पण्डित रामप्रताप मिश्र शास्त्री महाराजजीले विधिपूर्वक पूजावाचन गर्नुभएको थियो ।
शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका संघीय मामिला तथा कानून मन्त्री भण्डारीलाल यादव, लुम्बिनी प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ र अम्बिका काफ्ले, वडा अध्यक्ष झंकबहादुर थापा, समाजसेवी कामता प्रसाद सोनकरलगायत विभिन्न क्षेत्रका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले राप्ती नदीस्थित सिधनियाघाटलाई धार्मिक तथा पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न सके स्थानीय पर्यटन र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उनीहरूको भनाइ थियो ।
मंसिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुने मेलामा भारतको वृन्दावनबाट आएका कलाकारद्वारा रहस्य लीला तथा धनुष यज्ञको विशेष प्रस्तुति गरिने आयोजकले जनाएको छ । मेलामा श्रद्धालु भक्तजनका लागि भण्डाराको समेत व्यवस्था गरिएको छ ।
कार्तिक पूर्णिमाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै सिधनियाघाटको धार्मिक पहिचान स्थापित गर्ने र यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको मन्दिर विकास कोषका अध्यक्ष घनश्याम गुप्ताले बताउनुभयो । मेला तथा भण्डारामा डुडुवा गाउँपालिकाले समेत सहयोग गरेको छ ।
मेलाको अन्तिम दिन मंसिर ८ गते साँझ ५ बजे राप्ती नदीको सिधनियाघाटमा गंगा महाआरती आयोजना गरिने मेला व्यवस्थापन समितिका संयोजक विजयकुमार गुप्ताले जानकारी दिनुभयो ।
आयोजकले तीनदिने मेलालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ । साथै, धार्मिक तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न श्रद्धालु भक्तजन, स्थानीयवासी तथा सर्वसाधारणलाई आयोजकले आमन्त्रण गरेको छ ।