नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्तिक पूर्णिमाको अवसरमा तीनदिने ‘कार्तिक पूर्णिमा मेला, धनुष यज्ञ तथा भण्डारा कार्यक्रम’ आयोजना हुने भएको छ ।
श्री अष्टोत्तरशत शिवलिङ्ग विश्वंभरनाथ मन्दिर विकास कोषको आयोजनामा यही मंसिर ६, ७ र ८ गते मेला सञ्चालन हुन लागेको हो । मेलाको उद्घाटन समारोह आज साँझ ५ बजे राप्ती नदी सिधनियाघाटमा आयोजना गरिने मन्दिर विकास कोषका अध्यक्ष घनश्याम गुप्ताले जानकारी दिनुभयो ।
कार्तिक पूर्णिमाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ । मेलामा भारतको वृन्दावनबाट आएका कलाकारद्वारा रहस्य लीला तथा धनुष यज्ञको विशेष प्रस्तुति गरिने कार्यक्रम रहेको छ । साथै मेलामा भण्डारा कार्यक्रमसमेत आयोजना हुनेछ ।
तीन दिनसम्म सञ्चालन हुने मेलाको मुख्य आकर्षणका रूपमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम, गंगा स्नान र विशेष धार्मिक अनुष्ठान रहने आयोजकले जनाएको छ । मंसिर ८ गते मंगलबार साँझ ५ बजे राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती आयोजना गरिने कार्यक्रमसमेत तय गरिएको मन्दिरका पुजारी पण्डित रामप्रताम मिश्र शास्त्रीजीले बताउनुभयो ।
राप्ती नदीको तटमा अवस्थित सिधनियाघाटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र यस क्षेत्रको धार्मिक पहिचानलाई थप स्थापित गर्ने अपेक्षासहित मेला आयोजना गर्न लागिएको हो ।
मन्दिर विकास कोष तथा मेला व्यवस्थापन उपसमितिले मेलामा सहभागी भई धार्मिक तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न सम्पूर्ण श्रद्धालु भक्तजन, स्थानीयवासी तथा सर्वसाधारणलाई आमन्त्रण गरेको छ ।
मेला व्यवस्थापन उपसमितिका अनुसार उद्घाटन समारोहमा उपस्थितिका लागि विभिन्न क्षेत्रका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा धार्मिक व्यक्तित्वहरूलाई समेत निमन्त्रणा गरिएको छ ।