कोहलपुर, बाँके । बाँकेको कोहलपुरस्थित श्रीअगा अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विशेषगरी हाडजोर्नी तथा नसासम्बन्धी समस्याको उपचारलाई प्राथमिकतामा राख्दै विशेषज्ञ सेवा समेत उपलब्ध गराउँदै आएको अस्पतालका व्यवस्थापक राम बहादुर केसीले बताउनुभयो ।
अस्पतालका व्यवस्थापक केसीका अनुसार हाडजोर्नी तथा नसासम्बन्धी उपचारका साथै अस्पतालले फिजिसियन, स्त्रीरोग (गाइने), बालरोगलगायतका सेवा पनि प्रदान गर्दै आएको छ । अस्पतालमा अत्याधुनिक प्रयोगशालामार्फत स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा फिजियोथेरापी सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले अहिले आँखा उपचार सेवा पनि सुरु गरेको छ । आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचारसँगै शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासन प्रमुख श्रीराम चौधरीले बताउनुभयो । यस सेवाबाट आँखासम्बन्धी समस्या भएका बिरामीलाई आवश्यक जाँच तथा उपचारका लागि सहज हुने अस्पतालको विश्वास छ ।
आँखाको सामान्य समस्यादेखि शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिने नेत्र बिशेषज्ञ गेहेन्द्र खड्काले बताउनुभयो । उहाँले मौसम अनुसारको आँखालाई हेरचाह गर्नुका साथै विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
विगत पाँच वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको श्रीअगा अस्पतालले गुणस्तरीय तथा प्रभावकारी उपचार सेवामा जोड दिँदै आएको जनाएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले समेत आफूले प्राप्त गरेको सेवाप्रति सन्तुष्टि व्यक्त गर्ने गरेको अस्पताल प्रशासनको भनाइ छ ।
विभिन्न विशेषज्ञ सेवा, आधुनिक प्रयोगशाला, शल्यक्रिया, फिजियोथेरापी तथा आँखा उपचार सेवालाई विस्तार गर्दै अस्पतालले स्थानीयस्तर मै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास गरिरहेको छ ।