नेपालगन्ज, १९ कार्तिक । नेपालगञ्जमा डिजिटल कथावाचन तथा श्रव्य सामग्री उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । स्थानीयस्तरमा नेतृत्व विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाललाई प्रभावकारी रूपमा उठान गर्न युवतीहरूको आवाज सशक्त बनाउने उद्देश्यले दुईदिने तालिम आयोजना गरिएको हो ।
कार्तिक १७ र १८ गते नेपालगञ्जमा सञ्चालन भएको तालिममा डिजिटल माध्यमबाट कथा प्रस्तुत गर्ने, श्रव्य सामग्री उत्पादन गर्ने तथा आफ्ना अनुभव र समुदायका सवाललाई प्रभावकारी रूपमा अभिव्यक्त गर्ने सीपबारे पत्रकार निशु जोशी र एन्जिला ज्ञवलीले सहजीकरण गर्नभएको थियो ।
फातिमा फाउण्डेशन र सोल्युसन इन्टरनेशनल प्रालि नेपालगन्जको संयुक्त आयोजनामा सञ्चालित तालिमलाई रिभा ग्रान्ट्स फ्यासिलिटीको सहयोग रहेको थियो ।
फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकिले तालिमले स्थानीय समुदायका सवाल, महिला तथा युवतीका अनुभव र आवाजलाई डिजिटल माध्यमबाट अभिलेखीकरण तथा प्रसार गर्न सहयोग पुग्ने बताउनुभयो । सोल्युसन इन्टरनेशनल प्रालि नेपालगन्जका प्रबन्ध निर्देशक रविन्द्र कुमार ज्ञवालीले यस्ता तालिमले आर्थिक आत्मनिर्भरतासँगै परिवार र समाजमा आफ्नो निर्णय क्षमता तथा नेतृत्व विकासको आधारसमेत तयार गर्ने बताउनुभयो ।
तालिमपछि पुरैनाका महिलाहरूले अहिले आफ्नो सीपलाई डिजिटल मिडियामार्फत बजारसम्म पुर्याउने र आर्थिक उपार्जन गर्ने अपेक्षा रहेको बताएका छन् ।