नेपालगञ्ज, १२ माघ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन गरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारलाई सर्मथन गरेपनि आफूहरु सरकारमा नजाने भएकाले संसदमा ठूलो दल भएको हैसियतले विपक्षी दल भएको समेत उल्लेख गर्नुभयो ।
‘संसदमा गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गछौ ’नेता महतले भन्नुभयो ।
नेपाली काङ्ग्रेसका नेता महतले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनशाय रहेको र समझदारी विकास गर्ने भन्नुभएकोले उहाँको समेत परीक्षण हुने भएकाले सरकारलाई सर्मथन गरेको स्पष्ट पार्नुभयो ।
संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकोले त्यसमा काङ्ग्रेसको दावी रहेको उल्लेख गर्दै उहाँले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दावी गर्दा गठवन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटी भएकाले गठवन्धन भत्केको बताउनुभयो ।
प्रवक्ता महतले राष्ट्रपतिमा आफूहरुको दावी रहेको उल्लेख गर्दै पार्टी सभापति शेर बहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको जानकारी दिनुभयो ।
उहाँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता इच्छुक भएको र त्यसको उपयुक्त समयमा निक्र्यौल हुने बताउनुभयो ।