नेपालगन्ज : नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ । केन्द्रिय सदस्यमा निर्वाचित भएपछि काठमाण्डौबाट नेपालगन्ज आउनुभएका कोइरालालाई नेपालगन्ज विमानस्थल परिसरमा स्वागत गरिएको हो । कांग्रेसको १५औं महाधिवेशनमा उहाँ खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।
सो क्रममा पत्रकारलाई प्रतिक्रिया दिदै केन्द्रिय सदस्य कोइरालाले आफुलाई निर्वाचित गराउने सबैप्रति आभार प्रकट गर्नुभयो । कोइरालाले भन्नुभयो, कोइराला परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न” कोइराला परिवारले पार्टीप्रति राख्दै आएको विश्वास, आदर्श, त्याग र समर्पणको सम्मान गर्दै पार्टीको प्रतिष्ठा, सिद्धान्त र गरिमामा आँच आउन नदिने प्रतिबद्धता गर्नुभयो । उहाँले व्यक्तिगत स्वार्थभन्दा पार्टीको विचार, सिद्धान्त र संगठनको हितलाई प्राथमिकता दिँदै जिम्मेवारीपूर्वक अघि बढ्ने बताउनुभयो ।
सुधान्शु पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गिय सुशिल कोइरालाका भतिज हुन् । उहाँका पिता स्वर्गिय डा. अरुण कोइराला र माता किरण कोइराला नेपाली कांग्रेस बाँकेको पुर्वसभापति हुन् ।
स्वागतका क्रममा नेपाली कांग्रेस बाँकेका पुर्वसभापति एवम् सुधान्शुकी आमा किरण कोइराला, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, नेपालगन्ज नगर सभापति धनराज बर्मा, क्षेत्र नं. २ क) का सभापति बेलबहादुर बोहरा, (ख) का सभापति प्रदिप साहु पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।
यस्तै १४ औं महाधिवेशनमा पार्टीको जिल्ला सचिवमा पनि लोकप्रिय मतका साथ निर्वाचित हुनुभएका उहाँ १५ औं महाधिवेशनमा यसपटक केन्द्रिय राजनीतिमा जोडिनका लागि खुल्ला सदस्यमा उम्मेदवारी दिनुभएको थियो । सुधान्शु निर्वाचित भएसँगै बाँकेबाट पार्टीको केन्द्रिय राजनीतिमा पुनः कोइराला परिवारको उदय भएको छ ।