नेपालगञ्ज । ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को आज यहाँ रौनक देखिएको छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा सामुहिक नमाज पढेर बकराईद ईद–उल–अजाह मनाइएको छ ।
तीन दिनसम्म मनाइने सो पर्व शनिबारसम्म मनाईने प्रचलन रहेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राइले जानकारी दिनुभयो ।
रमदान महिना भर उपवास बसेर ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि ईद–उल–अजाह बकरईद मनाईने गन्छि । ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरुले कुर्वानी (पशुबली) को लागि नजिकको सामुहिक स्थान मस्जिद वा आ–आफ्नो घरमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगञ्जका मुस्लिम समुदाय आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, भैसी, राँँगा जस्ता जनावर केही साताअघि नै घरमा ल्याएर राखेका छन ।
भेडा, खसी बाख्रा जस्ता साना जनावरमा एक जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको ईस्लाम धर्मगुरु समेत रहनुभएका मौलाना ज्याउल मुस्तफा नूरानीले जानकारी दिनुभयो ।
मुस्लिम धर्मगुरु नूरानीले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको बताउनुभयो
सम्पूर्ण ईस्लाम धर्मावलम्बीले जसको साथमा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराउनु पर्ने धार्मिक प्रचलन रहेको बताइएको छ ।