Pairabi logo

कात्तिक १७, २०८३, सोमबार                    

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

डेक्स

डेक्स

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण
ADVERTISEMENT

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम गरिएको छ। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन परियोजनाअन्तर्गत कार्यक्रम गरिएको हो । 

कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई बजारको मागअनुसारका व्यावसायिक अवसर पहिचान गर्न, सम्भाव्य आयआर्जनका क्षेत्रहरू अन्वेषण गर्न तथा दिगो र आत्मनिर्भर भविष्य निर्माणका लागि स्पष्ट व्यक्तिगत एवं व्यावसायिक लक्ष्य निर्धारण गर्न सक्षम बनाउनु रहेको थियो।

चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रत्येक सत्रमा २५ जनाका दरले जम्मा १०० जना युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरू मधुवन नगरपालिकाका वडा नं। १ र २ तथा ठाकुरबाबा नगरपालिकाका वडा नं। ३, ४ र ५ का रहेका थिए।

उक्त कार्यक्रमको सहजीकरण .विनय दिल लामाले गर्नुभएको थियो। कार्यक्रममा परियोजनाका परियोजना संयोजक राधेकृष्ण थारुले परियोजनाका उद्देश्य, प्रमुख कार्यपद्धति तथा युवा उद्यमशीलता, रोजगारीका अवसर र आर्थिक आत्मनिर्भरता प्रवर्द्धनमा करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणको महत्वबारे प्रकाश पार्नुभएको थियो। त्यसैगरी, परियोजनाका फिल्ड अफिसरहरू सृजना थारु र सुनिता चौधरीले कार्यक्रमको समग्र व्यवस्थापन, समन्वय तथा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रम सहभागितामूलक कार्यक्रम दृश्याङ्कन विधिमार्फत सञ्चालन गरिएको थियो। कार्यक्रममा मेटाकार्ड अभ्यास, अन्तरक्रियात्मक छलफल तथा सहभागितामूलक समूहगत क्रियाकलापहरू समावेश गरिएका थिए। सहभागीहरूले स्थानीय बजारको माग, सम्भावित व्यवसायका अवसरहरू, उपभोक्ताको रुचि तथा दिगो उद्यम स्थापना गर्न आवश्यक स्रोतसाधन र सीपका विषयमा जानकारी हासिल गरेका थिए। विशेषगरी आयआर्जन वृद्धि तथा घरपरिवारको जीविकोपार्जनमा सुधार ल्याउन सक्ने उत्पादनमूलक र सेवामूलक व्यवसायका सम्भावनाहरू पहिचान गर्न जोड दिइएको थियो।

सहभागीहरूले बजारको सम्भाव्यता मूल्याङ्कन, व्यावसायिक प्रतिस्पर्धाको अवस्था बुझ्ने, सम्भावित जोखिम पहिचान गर्ने तथा स्थानीय बजारको माग, व्यक्तिगत रुचि, सीप, उपलब्ध स्रोतसाधन र लगानी क्षमताका आधारमा उपयुक्त व्यवसाय छनोट गर्ने विषयमा व्यावहारिक ज्ञान हासिल गरेका थिए।

छलफलका क्रममा कृषि, पशुपालन तथा स्थानीय परिवेशअनुकूल अन्य उद्यमशीलताका अवसरहरूबारे समेत जानकारी आदानप्रदान गरिएको थियो। साथै वातावरणमैत्री व्यवसायिक अभ्यास, जलवायु उत्थानशीलता, स्रोतसाधनको दिगो उपयोग तथा प्रभावकारी जोखिम व्यवस्थापनमा विशेष जोड दिइएको थियो।

कार्यक्रमले युवाहरूलाई आफ्ना व्यक्तिगत आकाङ्क्षा, रुचि र करियरसम्बन्धी लक्ष्यहरूलाई उपलब्ध आर्थिक अवसरहरूसँग जोडेर अघि बढ्नसमेत प्रेरित गरेको थियो। यस क्रममा उपभोक्ताको आवश्यकता बुझ्ने, बजारसँगको सम्बन्ध विस्तार गर्ने, सेवाको गुणस्तर कायम राख्ने तथा व्यवसायको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न प्रभावकारी व्यवस्थापकीय अभ्यास अवलम्बन गर्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा आफ्ना अनुभव तथा प्रतिक्रिया व्यक्त गर्दै सहभागीमध्येकी कल्पना थारुले अभिमुखीकरण कार्यक्रम अत्यन्त उपयोगी, जानकारीमूलक र व्यावहारिक रहेको बताउनुभयो। उहाँका अनुसार आफ्नो रुचि, सीप, उपलब्ध स्रोतसाधन तथा बजारको सम्भावनाका आधारमा उपयुक्त व्यवसाय पहिचान र छनोट गर्ने विषयमा कार्यक्रमले महत्वपूर्ण ज्ञान प्रदान गरेको छ।

उहाँले यस कार्यक्रमले आफ्नो भविष्यप्रतिको दृष्टिकोण स्पष्ट बनाउन तथा विशेषगरी आर्थिक आत्मनिर्भरता र दिगो आयआर्जनका लागि दीर्घकालीन लक्ष्य निर्धारण गर्न प्रेरणा दिएको बताउनुभयो। साथै, तालिमबाट प्राप्त ज्ञान र मार्गदर्शनले आगामी दिनमा सही व्यावसायिक निर्णय लिन, उद्यमशीलताको यात्रालाई अघि बढाउन तथा आफू र आफ्नो परिवारका लागि उज्ज्वल र सुरक्षित भविष्य निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले सहभागी युवाहरूको बजारमुखी करियर विकल्प, उद्यमशीलता तथा दिगो जीविकोपार्जनका अवसरसम्बन्धी बुझाइ र क्षमतामा अभिवृद्धि गरेको छ। यसका साथै स्वरोजगार, आर्थिक आत्मनिर्भरता तथा सामाजिक–आर्थिक जीवनस्तरमा सुधार ल्याउने प्रभावकारी माध्यमका रूपमा उद्यमशीलतालाई आत्मसात् गर्न युवाहरूलाई उत्प्रेरित गरेको छ।

समग्रमा, यस कार्यक्रमको सफलताले परियोजनाअन्तर्गत युवा सशक्तीकरण, रोजगारीका अवसरको खोजी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। समावेशी, सहभागितामूलक र व्यावहारिक कार्यपद्धतिमार्फत युवाहरूलाई आफ्ना सम्भावना पहिचान गर्न, सम्भाव्य व्यवसायका अवसरहरू अन्वेषण गर्न तथा आत्मनिर्भर र समृद्ध भविष्य निर्माणका लागि स्पष्ट दृष्टिकोण विकास गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ।

युवाहरूलाई सही ज्ञान, सीप, अवसर र आत्मविश्वासले सशक्त बनाउनु नवप्रवर्तनशील उद्यमी तथा जिम्मेवार आर्थिक योगदानकर्ता पुस्ता निर्माणका लागि अत्यन्त महत्वपूर्ण छ। निरन्तर सहकार्य र सामूहिक प्रयासमार्फत युवाहरूले आफ्ना आकाङ्क्षालाई दिगो उद्यममा रूपान्तरण गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन तथा थप उत्थानशील र समृद्ध समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्नेछन्।

युवा सशक्तीकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन परियोजना प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा कार्यान्वयन भइरहेको छ।
 

ताजा

सबै

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…