नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलीलाअन्तर्गत आज विशेष रावण वध गरिदैछ । रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गर्न लागिएको हो । यस वर्ष आयोजना गरिएको १५९औँ रामलीलामा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिनेछ ।
रामलीला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको आज दिउसो १ बजेदेखि शुरु हुनेछ । आज साँझ रावणको वधपछि राति १० बजेदेखि रातभर रामलिला मञ्चन गरिने आयोजक रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । उहाँका अनुसार भारतको वृन्दावनबाट २५ जना कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गरिरहेको छ ।
भोली भरतमिलाप तथा शुभराज्यभिषेक गरेर रामलीला सकिनेछ । रामलीला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न छिमेकी मुलुक भारतबाट समेत सर्वसाधारण आउने गर्दछन् । दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न प्रदर्शनी कक्ष राखिएका छन् । महोत्सवका अवसरमा सडक झिलिमिली पारिएको छ भने शान्ति सुरक्षा सुदृढ बनाइएको प्रहरीले जनाएको छ ।
डेढ सय वर्षभन्दा अघिदेखि आयोजना हुँदै आएको रामलिलामा नारद मोह, रामजन्म, ताड्का वध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, बाणासुर लीला, सीता स्वयम्वर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लीला प्रर्दशन भइसकेको समितिका सदस्य भरतकिशोर बैश्यले बताउनुभयो ।