बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्रस्तुत गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाकी एक आमाले छोरीलाई ३० लाख रुपैयाँको जीवन बिमा योजना उपहार दिनुभएको छ।
बढैयाताल गाउँपालिका–८, बर्मेली टोल निवासी लक्ष्मी कार्कीले आफ्नी छोरी स्वस्तिका पौडेलको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले विवाहका अवसरमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ३० लाख रुपैयाँको जीवन बिमा योजना उपहार दिनुभएको हो।
विवाहमा दिइने नगद उपहार तत्कालै खर्च हुन सक्ने भए पनि जीवन बिमा योजनाले भविष्यमा आर्थिक सुरक्षा र बचतको आधार तयार गर्ने विश्वासका साथ यस्तो उपहार दिएको परिवारले जनाएको छ। यसबाट छोरीको भविष्य सुरक्षित बनाउन सहयोग पुग्ने र आवश्यक परेको समयमा आर्थिक रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।
आफ्ना सन्तानको भविष्यका लागि अनावश्यक खर्च गर्नुभन्दा बचत र जोखिम न्यूनीकरणमा ध्यान दिनु आवश्यक रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीकी एजेन्सी म्यानेजर मधु शर्मा न्यौपानेले बताउनुभयो।
उहाँका अनुसार जीवन बिमाले परिवारलाई आर्थिक सुरक्षाको आधार तयार गर्न सहयोग पुर्याउन सक्छ। विवाह, जन्मदिन तथा अन्य विशेष अवसरमा बिमा योजनालाई उपहारका रूपमा दिने अभ्यासले दीर्घकालीन बचत र आर्थिक सुरक्षाप्रति सचेतना बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
छोरीको विवाहमा जीवन बिमा योजना उपहार दिने लक्ष्मी कार्कीको यस पहलले परम्परागत उपहारसँगै सन्तानको भविष्यका लागि आर्थिक योजना बनाउने सन्देश दिएको छ।