नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्र्यवहार, हिंसा तथा अधिकारका विषयमा नेपालगन्जमा छलफल गरिएको छ ।
एम्पली फाई चेन्ज र महिला कानून र विकास मञ्च काठमाडौंको आयोजनामा सोमबार नेपालगन्जमा आयोजित पत्रकार तथा महिला अधिकारकर्मीसँग गर्भावस्था, प्रसव र प्रसवोत्तर अवधिमा महिलाले भोग्नुपरेका विभिन्न प्रकारका हिंसा, दुव्र्यवहार तथा अधिकार उल्लंघनका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले गर्भावस्था तथा प्रसवका क्रममा महिलाले पाउनुपर्ने अधिकार, स्वास्थ्य सेवामा पहुँच तथा महिलामाथि हुने दुव्र्यवहारका विभिन्न पक्षबारे जानकारी गराउनु भएको थियो । उहाँले महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वसँग जोडिएका अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
महिला कानून र विकास मञ्चका अधिवक्ता दिपेश श्रेष्ठले गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलामाथि हुने हिंसा, दुव्र्यवहार र अधिकार उल्लंघनका कानुनी पक्षबारे प्रस्तुतीकरण गर्दै उहाँले महिलामाथि हुने हिंसा तथा विभेदका घटनामा कानुनी उपचार र अधिकारको प्रयोगका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी पत्रकार तथा महिला अधिकारकर्मीहरूले गर्भावस्था र प्रसवका समयमा महिलाले स्वास्थ्य संस्था तथा परिवारभित्रै भोग्नुपर्ने व्यवहार, स्वास्थ्य सेवामा पहुँच, सम्मानजनक प्रसूति सेवा, गोपनीयता, सूचनाको अधिकार तथा हिंसाबाट संरक्षणलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
छलफलका क्रममा महिलाको सुरक्षित मातृत्व, सम्मानजनक स्वास्थ्य सेवा र अधिकार सुनिश्चित गर्न राज्यका सम्बन्धित निकाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । सहभागीहरूले महिलाले भोग्दै आएका हिंसा तथा दुव्र्यवहारका घटनालाई सार्वजनिक बहसमा ल्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।
कार्यक्रमले गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाको अधिकार संरक्षण तथा सम्मानजनक व्यवहार सुनिश्चित गर्ने विषयमा पत्रकार र महिला अधिकारकर्मीबीच थप संवाद तथा सहकार्यको आधार तयार गरेको आयोजकले जनाएको छ ।