बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा तथा राजापुर नगरपालिकासँगको समन्वयमा मानव बेचबिखन नियन्त्रणसम्बन्धी स्थानीय समितिको बैठक सम्पन्न गरेको छ।
बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक श्री ईश्वर बी।के।ले परियोजनाको हालसम्मको प्रगति, प्रमुख उपलब्धि तथा सञ्चालन भइरहेका गतिविधिहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो। छलफलका क्रममा मानव बेचबिखन नियन्त्रणसम्बन्धी स्थानीय नीति, २०८३ को मस्यौदा स्वीकृतिका लागि नगर कार्यपालिकामा पेस गर्ने निर्णय गरिएको थियो।
साथै, मानव बेचबिखनको जोखिममा रहेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका परिवारहरूको तथ्याङ्क सङ्कलन र अद्यावधिक गरी आवश्यकतामा आधारित योजना तथा प्रभावकारी रोकथामका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको थियो।
बैठकको समापन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख दीपेश थारूले मानव बेचबिखनको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकार, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाहरूबीच प्रभावकारी समन्वय, सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले जोखिममा रहेका व्यक्ति तथा परिवारहरूको समयमै पहिचान गरी उनीहरूको संरक्षण र सुरक्षाका लागि प्रभावकारी तथा समन्वयात्मक पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।
बैठकले स्थानीयस्तरमा समन्वयका संयन्त्रहरूलाई थप सुदृढ बनाउने, जोखिममा रहेका व्यक्ति तथा परिवारहरूको पहिचान प्रणालीलाई प्रभावकारी बनाउने र मानव बेचबिखनको रोकथाम तथा प्रतिकार्यका लागि सामूहिक प्रयासलाई थप मजबुत बनाउने साझा प्रतिबद्धताका साथ सम्पन्न भएको थियो। सुरक्षित, सचेत र मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता, प्रभावकारी समन्वय र निरन्तर साझेदारी अपरिहार्य छन्।
राजापुर नगरपालिकाका नगर प्रमुख तथा समितिका संयोजक दीपेश थारूको अध्यक्षतामा सम्पन्न बैठकमा नगर उपप्रमुख मंकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाई, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी, बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर प्रमिशा थारूलगायत समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो।