नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवको आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गरेको हो ।
आज राति राप्ती नदीको सिधनियाघाटमा भजन–कीर्तनलगायत कार्यक्रम शुरु भएको छ । आज साँझ महाआरती गरी कार्यक्रम शुरु भएको हो । आज राती नेपाली, अवधी लगायत भाषा भजन किर्तनको कार्यक्रम आयोजना गरिएको नाा बाँके संस्थापक श्रीराम सिग्देलले बताउनुभयो । उहाँका अनुसार, भोली माघ १ गते बिहान भक्तजनलाई डोरी लगाएर सुरक्षित र व्यवस्थित रूपमा राप्ती नदीमा स्नान गराइने व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई धार्मिक र सांस्कृतिक महत्त्वका साथै पर्यटकीय आकर्षणको रूपमा थप प्रभावकारी बनाउन राप्ती नदी किनारमा सार्वजनिक शौचालय निर्माण र अस्थायी चेन्जिङ रुम निर्माण गरिनेछ । “यसले आगन्तुक भक्तजनलाई सुविधा र सहजता प्रदान गर्नेछ”, मकर स्नानलाई भव्यता दिन आवश्यक संयोजन गरिरहनुभएका नाट्टा बाँकेका संस्थापक अध्यक्ष सिग्देलले भन्नुभयो ।
माघीमा मकर स्नान हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन भएकाले धार्मिक विश्वासअनुसार मकर स्नानले सबै प्रकारका पापबाट मुक्ति दिलाउने जनआस्था छ । बाँके जिल्लामा पहिलोपटक व्यवस्थित रूपमा मकर स्नान कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवद्र्धन गर्नुरहेको उहाँको भनाइ छ ।
स्थानीय सरकार, पर्यटन व्यवसायी, धार्मिक सङ्घसंस्था र सर्वसाधारणको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । नाट्टा बाँके च्याप्टरले यस कार्यक्रममार्फत बाँकेलाई धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा चिनाउने लक्ष्यसमेत लिएको जनाएको छ ।
यसैगरि राप्ती तटमा निमार्ण गर्न लागिएको बैकुण्ठधाम घाट निमार्णको शुभारम्भ गरिने छ । विहीबार विहान निमार्णको कार्यक्रम शुरु गरिने बैकुण्ठधाम सिधनियाघाटका अध्यक्ष डा सुरेश कुमार कानोडियाले बताउनुभयो ।
