बसन्त गौतम
नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको बैठकले अदालतका आदेश र फैसलाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले मानव अधिकार, कानूनी शासन र नागरिक अधिकारसम्बन्धी सार्वजनिक सरोकारका मुद्दा तथा अदालती आदेशहरूको कार्यान्वयन अवस्थाबारे व्यापक समीक्षा गरेको हो।
बैठकले अदालतबाट भएका महत्वपूर्ण फैसालाको कार्यान्वयनमा देखिएका चुनौती र समस्या सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले हालै सम्पन्न वार्षिक समीक्षा कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकाल्दै पुनर्गठित कार्यसमितिको पदभार हस्तान्तरण समेत गरेको छ।
बैठकले हुस्सु र शीतलहरका कारण आम नागरिकको जनजीवनमा परेको असरबारे स्थानीय सरकार र प्रशासनलाई जानकारी गराउने साथै आगामी दिनमा नयाँ सार्वजनिक सरोकारका मुद्दा उठान र पैरवीलाई निरन्तरता दिने निर्णय गरेको छ।
बैठकले आगामी दिनमा नयाँ सार्वजनिक सरोकारका मुद्दा उठाउने निर्णय पनि गरेको छ। बैठकमा सह–संयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, र प्रवक्ता तथा सह–संयोजक अधिवक्ता बसन्त गौतम, महासचिव अधिवक्ता विकास आचार्य, सचिव अधिवक्ता सुनिता शर्मा, कोषाध्यक्ष अधिवक्ता केवल सिंह थारु, तथा सदस्यहरू अधिवक्ताहरू बलबहादुर चन्द, विश्वजित तिवारी, भोला महत, सुरेश गौतमको सक्रिय सहभागिता रहेको थियो।