श्यामविहारी मंगन्ता ।
नेपालगन्ज १० कार्तिक । जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाउनुभएको छ । बाँके डुडुवा गाउँपालिका–२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउनुहुन्छ । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क हुनुहुन्थ्यो तर पनि उहाँमा थकान देखिँदैनथ्यो । उहाँसँग धेरै जग्गा पनि छैन । उहाँ मौसमअनुसार धान, गहुँ, मकै, चना, तोरी लाउनुहुन्छ । उहाँले जानको काम नै खेतीपाती हो । खेतीपातीबाट आएको आर्जन नै परिवार पाल्ने माध्यम हो ।
छोरा सुरेन्द्र खटिक उहाँकै साथमा हुनुहुन्छ, तर बुवाको काममा भने त्यति सघाउनुहुन्न । बुवाको काम सघाउने त सोच्नु हुन्छ तर उत्साही भएर अघि सर्नुहुन्न । तीस वर्षीय सुरेन्द्र बुवाले अर्हाएपछि मात्रै गर्नुहुन्छ । बुवाले खेतीपाती गरिरहेको हेरेर पनि उहाँले सिक्नुपर्ने हो । तर, अहिले उहाँले सिक्नु भएको छैन । काम गर्न मन भए पनि लजाउँनुहुन्छ उहाँ ।
सुरेन्द्रलाई त्यो काम गर्ने इच्छा र चाहना पनि छैन । उहाँलाई यो विश्वास पनि छैन । यत्रो मिहनत गरेर कति आम्दानी हुने हो रु काम गरेर छाक टार्ने बाहेक अरु केही गर्न सकिन्न भने सोच छ, उहाँमा । उहाँका पूर्खाले त्यही काम गर्दै आएका थिए तर अबको पुस्ता भने कृषि कर्म गर्न तयार छैनन् । सुरेन्द्र जस्तै धेरै खटिक युवामा पूर्खाहरूले गरिरहेको काम, सीप सिक्ने उत्सुकता छैन । तर अघिल्लो पुस्ता भने कृषिकर्मसँगै भैँसी, बाख्रापालनमा सक्रिय छन् ।
विशेषतः खटिक जाती बङ्गुर चराउँथे । ढोल बनाउने, बजाउने गर्थे । तर अब अहिले त्यो लोपहुँदैछ । खटिकहरू मधेशी दलितभित्र पर्छन् । खटिक बाँकेका विभिन्न स्थानमा रहे पनि डुडुवा गाउँपालिकामा अलि बेँसी छन् । खटिक डुडुवा–२ बेतहनीमा बसोबास गर्दै आइरहेका छन् ।
यस क्षेत्रमा खटिकहरू चार सयको सङ्ख्यामा रहेको अनुमानमा छ । उनीहरू अल्पसङ्ख्यक जातिको सूचीमा पनि छन् । आयस्रोतको प्रमुख माध्यम कृषि पेसा भए पनि आज भोलिका युवापुस्ताले सो काम छोडेकामा चिन्तित छन्, अगुवा ।
पच्चीस वर्षीय लवकुशलाल खटिक भारतमा काम गर्न जानुहुन्छ । दैनिक मजदुरी गरेरै परिवार पाल्नुहुन्छ । लवकुशकी दुई बहिनी र एउटी आमा हुनुहुन्छ । उहाँलाई कृषि खेतीमा खासै रुचि छैन । खेतीपाती गर्नका लागि प्रर्याप्त जग्गा जमिन नभएका कारण पनि युवापुस्ता कृषिकर्म गर्न हच्चिएको उहाँ बताउनुहुन्छ । परिश्रम र लगानी फिर्ता हुन्छ कि हुँदैन भन्ने अवस्था भएपछि कृषि पेसा रोज्न उत्साह नभएको हुनसक्ने उहाँको बुझाइ छ ।
लवकुशका अनुसार भने जस्तो जग्गा नभएका कारण खटिक सुदायलाई खेती गर्न धौधौ भएको छ । कतिपयले जग्गा अधिया लिएर खेती गरिरहेका छन् । खटिक समुदायका ७० प्रतिशतले अहिले पनि खेती नै गर्ने गर्दछन् तर यो सङ्ख्या विस्तारै घट्दै गएको छ । युवालाई कृषिमै निर्भर रहने वातावरण कहीँबाट बनिरहेको छैन । सबैभन्दा नजिकैको सरकारले खटिकहरूलाई हेर्न सकिरहेको छैन । डुडुवा गाउँपालिका–२ का अध्यक्ष दुर्गाप्रसाद बर्माले दलित र विपन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो । उहाँले खटिक समुदायको यकिन तथ्याङ्कन भएको र तथ्याङ्क सङ्कलन गरी त्यसैका आधारमा युवा लक्षित कार्यक्रम ल्याउने बताउनुभयो ।
डुडुवा गाउँपालिका कृषि विकास शाखा प्रमुख सुशीलकमाार शर्मा मधेशी दलितअन्तगर्त खटिक रहेका कारण उनीहरूका लागि छुट्टै कार्यक्रम नरहेको बताउनुभयो । डुडुवा गाउँपालिकाद्वारा दलित परिवारलाई प्राथमिकता दिने भनिए पनि त्यस्तो कार्यक्रम ल्याइएको छैन । खटिक समुदायका लागि भनेर वडास्तरबाट योजना तथा कार्यक्रम गर्न आएकाले पालिकाले स्वयं कार्यक्रम तय गर्न नसकेको शर्माले बताउनुभयो ।
दलितको क्षेत्रमा कार्यरत दलित महिला सङ्घ बाँकेले दुई वर्षअघि खटिक समुदायका लागि खेती सिँचाइ सविधामा सहयोग गरेको थियो । कृषि शाखा प्रमुख शर्माका अनुसार तरकारी खेती गर्नेलाई सिँचाइ सुविधाका लागि मोटर, पम्पसेट आदि सहयोग गरिएको छ । वडाले युवालाई लक्षित गरेर कार्यक्रम माग भए पालिकाले बजेट छुट्यााउन सक्ने शर्माको भनाइ छ ।
खटिक जस्तै अन्य जातीको पनि डुडुवामा बसोबास रहेको छ । डुडुवामा अति विपन्न जातीको समुदायको बसोबास भएकाले उनीहरुको समग्र विकासका लागि पालिकाले विशेष रणनीति बनाएर कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाभरि घरधुरी सर्भेक्षणको काम भइरहेकाले त्यसबाट आएको तथ्याङ्क अनुसार कार्यक्रम बनाइनेछ ।