नेपालगन्ज २३ कात्तिक । जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गर्नुभएको छ ।
यी दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार गर्नुभयो । बाँके क्षेत्र नं २ को समग्र विकास र नागरिकको समृद्धिका लागि उहाँले विभिन्न दश क्षेत्रमा गर्ने सामाजिक र अरू विकासका योजनाहरू समेटनुभएको छ ।
विभिन्न दश बुँदामा समेटिनुभएका उहाँको क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिलालगायतका विषयहरू समेटिएका छन्। पत्रकारहरूसँगको साक्षात्कारमा उहाँले आफूले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको र अझ उन्नत विकासका लागि थप योजनाहरू ल्याएको बताउनुभयो ।
‘हामीले काम गर्नसक्छौं, गरिरहेका पनि छौं’ उहाँले भन्नुभयो ‘काम गरिरहेको र गर्नसक्ने व्यक्तिलाई भोट दिनुस् भनेका छौं।’मतदातालाई रिझाउनका लागि आफूहरूले कुनै पनि झुटा योजना र सपनाहरू नबाँडेको पनि उहाँले बताउनुभयो ।
‘बरू हाम्रा विरूद्ध विपक्षी मित्रहरूले अफवाहरू फैलाइरहनुभएको छ। उहाँहरूले हामीलाई एकोहोरो भ्रष्टाचार गरेको भनेर भ्रमहरू फिँजाइरहनुभएको छ। कसले काम गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुरामा त जनता प्रस्टै छन्। मैले कहिँकतै भ्रष्टाचार गरेको छु भने त्यसको प्रमाण दिनुस् म सजया भोग्न तयार छु भनेर त मैले भनिरहेकै छु।’