Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

विवाहको उमेर कति ?

सम्वाददाता

सम्वाददाता

विवाहको उमेर कति ?
ADVERTISEMENT

रीता साह

अचेल विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्नुपर्ने बहस चलिरहेको छ । यस्तो बहस विभिन्न महिलावादी संघसंस्थाको मञ्चदेखि संसद्को रोस्ट्रमसम्म पुगेको छ । बालबालिकाहरू कमै उमेरमा भागेर विवाह गर्ने चलन बढ्दै गएको र यसरी भागी विवाह गर्दा केटी पक्षले केटामाथि बलात्कार र अपहरणको मुद्दा हाल्ने गरेकाले विवाह गर्ने उमेर घटाउनुपर्ने तर्क गरिन्छ ।

नागरिकता पाउने उमेर १६ वर्ष र भोट हाल्ने उमेर १८ वर्ष भएपछि विवाहर्को उमेर २० वर्ष किन राख्ने भन्दै वर्तमान कानुनमन्त्रीले संसद्मै विवाहको उमेर घटाउने वकालत गरेपछि बहस झनै तातेको छ । महिला आन्दोलनको एउटा प्रमुख मुद्दा बालविवाह अन्त्य हुनुपर्ने रहिआएको थियो । त्यसैले करिब सय वर्ष पुरानो यो मुद्दामा प्राप्त उपलब्धिलाई जोगाउनुपर्नेमा खोस्न खोजिएको भन्दै महिला अधिकारकर्मीहरू व्यापक विरोधमा उभिएका छन् ।

यस सवालमा मानिसहरू विवाहको उमेर घटाउन हुने र नहुने गरी मुख्यतः दुई खेमामै विभाजित देखिन्छन् । एकातिर यौन सम्बन्ध र मताधिकारको जस्तै गरी विवाहको उमेर पनि घट्नुपर्ने तर्क आउने गरेको छ, अर्कातिर बालविवाहलाई प्रजनन स्वास्थ्य, बालअधिकार, शिक्षा, रोजगारीजस्ता लैंगिक समानताका दृष्टिले हेर्नुपर्ने धारणा राखिने गरेको छ । यसरी विवाहको उमेर घटाउने बहस चुलिइरहँदा बालविवाहको अवस्था, कानुनी व्यवस्था, कानुनमा रहेको खाडल र यसबाट पर्न सक्ने प्रभावबारे ध्यान दिन आवश्यक छ ।

संवैधानिक एवं कानुनी व्यवस्था

नेपालको संविधान–२०७२ को धारा ३९(५) को बालबालिकाको हक अन्तर्गत कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने व्यवस्था छ । सोही धाराको उपधारा ६ मा संस्कृति वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारले बालबालिकालाई शोषण गर्न वा अनुचित रूपमा प्रयोग गर्न पाउन्न । यस विपरीतका कार्य कानुन बमोजिम दण्डनीय हुने र पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने संवैधानिक हक पनि छ ।

मुलुकी अपराध संहिता–२०७४ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष तोकी त्यसअघि कसैले विवाह गर्न वा गराउन हुँदैन भनेको छ । ऐनमा तोकिएको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । नेपाल सरकारले दिगो विकास लक्ष्यहरूको कार्यसूचीमा सन् २०३० सम्ममा नेपालमा बालविवाह अन्त्य गर्ने घोषणा पनि गरेको छ । समग्रमा, नेपालको संविधानले नै बालविवाहलाई गैरकानुनी करार गर्दै दण्डनीय बनाएको छ । करिब ७ वर्षदेखि यसको अभ्यास पनि हुँदै आइरहेको छ ।

धरातलीय अवस्था : बालविवाह एउटा सामाजिक कुरीति हो । तर हाम्रो समाजले यस कुरीतिलाई संस्कृतिकै रूपमा अभ्यास गर्दै आइरहेको छ । कानुनले बालविवाहलाई अपराध माने पनि समाजमा यो अझै पनि चलनमै छ । विश्वव्यापी तथ्यांक हेर्दा, सबैभन्दा बढी बालविवाह हुने १० देशमा नेपाल पनि पर्छ । दक्षिण एसियाली देशहरूमा चाहिँ नेपाल तेस्रो बढी बालविवाह हुने देश हो । पहिलो स्थानमा बंगलादेश छ भने दोस्रोमा भारत । सन् २०१६ को नेपालको जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण अनुसार, २५–४९ वर्ष उमेर समूहका विवाहित महिलाहरूमध्ये ७२ प्रतिशतको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ । मधेश प्रदेशको जनसांख्यिक स्थितिबारे विक्रम संवत् २०७६ मा प्रकाशित एउटा प्रतिवेदनमा मधेश प्रदेशमा करिब ९० प्रतिशत महिलाको विवाह २० वर्ष पुग्नुअघि नै भैसकेको हुन्छ । यसरी बहुसंख्यक महिलाको विवाह कानुनले निर्धारण गरेको उमेरभन्दा अघि नै हुने गरेको छ । अहिलेको कानुनमा विवाहको उमेर २० वर्ष तोकिएको छ । मधेश प्रदेशमा सबैभन्दा बढी सप्तरी जिल्लामा ८३ प्रतिशत बालविवाह हुने गरेको युनिसेफको सन् २०१४ को सर्वेक्षणमा उल्लेख छ । प्रदेशगत हिसाबले हेर्दा बालविवाह सबैभन्दा बढी मधेश र कर्णाली प्रदेशमा हुने गरेको छ । त्यस्तै, जातीय र सामुदायिक हिसाबले हेर्दा दलित, मुस्लिम, निम्न वर्ग र ग्रामीण भेगमा बढी बालविवाह हुने गरेको छ । पछिल्लो समय किशोरकिशोरीले आफैं पनि प्रेम सम्बन्ध गाँसेर कमै उमेरमा विवाह गर्ने गरेको पाइएको छ ।

बहुआयामिक प्रभाव : बालविवाहले बालबालिकाको जीवनमा बहुआयामिक असर पार्छ । बालकभन्दा पनि बालिकालाई बढी ।

पहिलो, कम उमेरमा विवाह हुँदा सबैभन्दा बढी यसको असर प्रजनन स्वास्थ्यमा पर्ने गर्छ । हामीकहाँ विवाह हुनेबित्तिकै बच्चा पाउने चलन व्याप्त छ । किशोरावस्थामा पाठेघर बच्चा पाउनका लागि तयार भइसकेकै हुँदैन, जसले गर्दा बच्चा कम तौलको वा महिना नपुगी जन्मिने, पाठेघर झर्नेजस्ता समस्या हुन्छन्; आमा र बच्चाको मृत्युसम्म हुने जोखिम रहन्छ । यूएन विमेनको नेपालमा महिला प्रगति (सन् १९९५–२०१५) प्रतिवेदन अनुसार, नेपालमा मातृ मृत्युदर प्रत्येक १ लाख प्रसूतिमा १७० जना छ । त्यस्तै, ५ वर्षमुनिका प्रत्येक १ हजार शिशुमा ५४ जनाको मृत्यु हुने गरेको छ । यसको प्रमुख कारणमध्ये एउटा हो— बालविवाह । जनस्वास्थ्यविद्का अनुसार, बच्चा पाउने उपयुक्त उमेर २५ देखि ३५ वर्षसम्म हो । २० वर्षमुनिको उमेरमा बच्चा पाउँदा आमा र बच्चा दुवैलाई जोखिम हुन्छ ।

दोस्रो, बालविवाहले बालबालिकालाई शिक्षा प्राप्त गर्ने मौलिक हकबाट वञ्चित गर्छ । त्यसैले यसबाट बालिकाहरू बढी प्रभावित हुने गर्छन् । हाम्रो समाज पितृसत्तात्मक सोच र संरचनामा आधारित छ, जहाँ घरसहित बालबालिका स्याहार्ने काम महिलाले गर्नुपर्ने अनिवार्य तर अघोषित व्यवस्था छ । अझ महिलाभित्र पनि घरकी बुहारीले घर–व्यवहार धान्नुपर्ने हुन्छ, चाहे त्यो बुहारी कलिलै किन नहोस् । त्यसले गर्दा विवाहपछि कुनै बुहारीले पढाइको निरन्तरता दिनु भनेको ठूलै पहाड फोर्नुसरह हुन्छ । शिक्षाविद्हरूका अनुसार, नेपालमा बालिकाहरूको स्कुल ‘ड्रपआउट’ हुने एक प्रमुख कारण बालविवाह पनि हो । यसरी ड्रपआउट हुनेमा अधिकांश दलित, मुस्लिम र निम्न वर्गका बालबालिका हुन्छन् । जब बालिकाहरू विवाहका कारण शिक्षा आर्जन गर्न सक्दैनन्, रोजगारी पाउन पनि सक्दैनन्, आर्थिक रूपले सधैंभरि अरूमाथि निर्भर हुन पुग्छन्, कालान्तरमा तिनीहरूको आर्थिक सशक्तीकरण पनि हुन सक्दैन ।

तेस्रो, हाम्रो समाजमा अझै पनि परम्परा, चलन वा रीतिरिवाजका नाममा बालविवाह हुँदै आएको छ । धर्म हुनेजस्ता भ्रम तथा गलत मान्यताले गर्दा बालबालिकाको कलिलो उमेरमै विवाह भएको देखिन्छ । यसका कारण बालबालिकाको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा अवरोध हुन्छ । कलिलै उमेरमा विवाह गरेर सानै उमेरमा बुबाआमा बन्दा जीवनमा दीर्घकालीन असर पर्छ । यसबाट बालबालिकाको चौतर्फी विकास अवरुद्ध हुन्छ, उनीहरू विभिन्न अवसरबाट वञ्चित हुन्छन् । त्यसैले के बिर्सनु हुन्न भने, बालबालिका सम्बन्धी ऐन–२०७५ ले बालविवाहलाई दण्डनीय बनाएको छ ।

बहस थरीथरीका

विवाहको उमेर घटाउनुपर्छ भन्नेहरूले यसलाई लिएर अनेक तर्क दिने गरेका छन् ।

यौन सम्बन्ध राख्नका लागि कानुनले १८ वर्ष उमेर तोकेको छ तर विवाहको उमेर किन २० वर्ष भन्नेहरूले के बुझ्नुपर्छ भने, यौन सम्बन्ध र विवाह दुई फरक विषय हुन् । हाम्रो समाजमा विवाह गर्नु भनेको बच्चा पाउने लाइसेन्स प्राप्त गर्नु बराबर मानिन्छ । अर्को कुरा, विवाहसँगै केही जिम्मेवारी पनि जोडिएर आउने गर्छन्, जुन कलिलै उमेरमा बिहे गर्नेहरूले वहन गर्न सक्दैनन् ।

अर्को तर्क छ— नागरिकता लिने उमेर १६ वर्ष मानिएको छ भने विवाह किन २० वर्षमा ? नागरिकताको अधिकार प्राप्त गर्नु र मतको अधिकार पाउनु पनि भिन्नभिन्न विषय हुन् । यस्ता तर्कहरू कुनै तथ्यमा आधारित नभई भावनात्मक हुन्, जसको बालविवाहसँग कुनै तुक छैन ।

बहसमा आएको अर्को पक्ष हो— केटामाथि लगाइने आरोप । २० वर्ष नपुग्दै किशोरकिशोरीले स्वेच्छाले विवाह गर्दा यस्ता कतिपय सम्बन्धहरू बडो जटिल हुन पुग्छन् । यस्तो खास गरी अन्तरजातीय विवाहमा हुने गर्छ । यस्ता घटनामा प्रायः केटी पक्षले बालविवाहमा नभई केटामाथि बलात्कार र शरीर बन्धकको मुद्दा चलाउने गरेका छन् । बलात्कार र शरीर बन्धक गम्भीर अपराध अन्तर्गत पर्छ । पछिल्लो समय धेरै किशोरलाई यस्तो गम्भीर आरोप लाग्ने गरेको छ । तर यस्तो प्रवृत्ति देखिनुमा गल्ती बालविवाहको नभई कानुनमा भएको छिद्र (लुप होल) को हो । यसबारे गम्भीर बहस हुनुपर्छ । समाधानको पहल पनि हुनैपर्छ । बालविवाहको घटनामा बलात्कार र शरीर बन्धकजस्ता झुटा मुद्दा बनाउने व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ । विवाहको उमेरसीमा घटाउनु त्यसको समाधान हुन सक्दैन । बालविवाह सम्बन्धी कानुन बनेपछि समाजमा सकारात्मक प्रभाव परेको छ । बालविवाह घट्दै पनि गइरहेको छ । त्यसैले विवाहको उमेर घटाउनबारे सोच्नुभन्दा यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नतर्फ सबै पक्षले पहल गर्नुपर्छ ।

साभार : कान्तिपुर 

ताजा

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…