इन्द्रसरा खड्का
वैदेशिक रोजगारीमा गएका पुरुष हिंसामा परेको कुरा फाट्टफुट्ट बाहिर आए पनि प्रायः पुरुष घरेलु हिंसामा परेको कुरा त्यति बाहिर आउँदैन जति महिलाको आउँछ । तर; श्रीमती, परिवारबाट पीडामा परेका पुरुषको संख्याको नेपालमा कमी छैन । भलै; पितृसत्तावादी समाजमा महिलालाई यो विषयमा बोल्न जति सजिलो छ पुरुषलाई छैन । घरभित्र सहनै नसक्ने पीडा भए पनि आफूमाथि भएको अत्याचार बाहिर ल्याउन पुरुषलाई यही सोचले रोक्छ । घरभित्र श्रीमती, आमाबुबा, दिदीबहिनी वा जोसुकैबाट पुरुषमाथि हिंसा हुन सक्छ तर यो कुरा कतिपयलाई सामान्य जस्तै पनि लाग्न सक्छ ।
बागलुङका ३० वर्षीय सुरज (परिवर्तित नाम) काठमाडौंमा बसेर अध्ययनसँगै काम गर्नुहुन्छ । कानून विषय लिएर पढिरहनुभएका उहाँको पढाइभन्दा अरू समय काममै बित्छ । एउटा गैरसरकारी संस्थामा आबद्ध उहाँ श्रीमतीको तनावले शान्तिपूर्वक बाँच्न नसक्ने अवस्थामा पुगेको बताउनुहुन्छ । आठ वर्षअघि काठमाडौं आउनुभन्दा पहिले नै उहाँको बिहे भएको हो । बिहेपछि पढाइको लागि काठमाडौं आउनुभयो भने श्रीमती गाउँमै बस्नुभयो ।
गाउँमा बसेकी श्रीमती एनजीओमा काम गर्न थाल्नुभयो । यता काठमाडौं आउनुभएका सुरज पनि पढाइसँग काम खोज्न थाल्नुभयो । कहिले काममा त कहिले कलेजमा व्यस्त हुँदा श्रीमतीको कचकच शुरू भयो । विभिन्न शंका उपशंका गर्न थाल्नुभयो । जति सम्झाउँदा पनि नमानी गाउँको जागिर छोडेर काठमाडौं नै आउनुभयो । कहिले कार्यालयमा काम गर्ने केटी साथीहरूको नाम जोड्दै गाली गर्ने त कहिले कलेजका साथीहरूको नाम जोडेर शंका गर्ने बानीले सुरजलाई दिक्क लगायो । एक महिना सुरजसँग बसेपछि श्रीमती फेरि गाउँ जानुभयो ।
वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषहरूले श्रीमतीले पैसा लिएर अरूसँग भागेको भन्दै उजुरी गर्न थाले पनि सुरज जस्ता पुरुष अझै पनि खुलेर बोल्न सकेका छैनन् । पुरुषले आफूमाथि भएको हिंसा सहनुको सबैभन्दा ठूलो कारण सामाजिक संरचना रहेको अधिकारकर्मीहरू बताउँछन् ।
“घरमा आमाबुबालाई पैसा दिंदा गाली गर्छे, भाइहरूलाई पैसा दिंदा गाली गर्छे, अब त हुँदाहुँदै एटीएम र बैंकको चेक पनि उसकै हातमा छ !” सुरजले दिक्दारी पोख्नुभयो, “मलाई त के गर्नु, के नगर्नु भएको छ । सम्बन्ध विच्छेद गरौं न त भन्दा पनि नमान्ने, सँगै बस्दा पनि बस्नै मुश्किल भइसक्यो । उसले गर्न खोजेको के हो मैले त बुझ्नै सकेको छैन ।” उहाँ थप्नुहुन्छ, “श्रीमतीले मलाई यस्तो गर्छे भनेर कसलाई सुनाउनु ! साथीभाइ, आफन्तसँग पनि भन्न अप्ठेरो लाग्छ, न उजुरी गर्न जानू ! १५ दिन अगाडि पनि ठूलो झगडा भयो । मलाई त मानसिक समस्या नै भइसक्यो ।”
श्रीमतीले चिथोरेको अनुहारको दाग देखाउँदै सुरजले भन्नुहुन्छ, “झगडा गर्न ठूलो विषय पनि केही हुँदैन । स–साना कुरामा आफैं निहुँ खोज्ने अनि झगडा गर्ने । अस्ति गाउँ जाने वेलामा बसपार्कमै झम्टी । यस्तो श्रीमतीको साथमा बाँच्नुपरेको छ ।”
वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषहरूले श्रीमतीले पैसा लिएर अरूसँग भागेको भन्दै उजुरी गर्न थाले पनि सुरज जस्ता पुरुष अझै पनि खुलेर बोल्न सकेका छैनन् । पुरुषले आफूमाथि भएको हिंसा सहनुको सबैभन्दा ठूलो कारण सामाजिक संरचना रहेको अधिकारकर्मीहरू बताउँछन् । सामाजिक संरचना नै पुरुषले ठूलो स्वर गरेर रुन हुँदैन, घरभित्रका कुरा अरूलाई भन्नु हुँदैन भन्ने छ । जसका कारण सुरज जस्ता धेरै पुरुष हिंसा सहेर बसिरहेका छन् ।
तथ्यांकमा पुरुष हिंसा
प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांकले पुरुषहरू घरेलु हिंसाबारे बोल्न थालेको देखाएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक केलाउँदा घरेलु हिंसामा पर्ने पुरुषको संख्या बर्सेनि बढ्दै गएको देखिन्छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा घरेलु हिंसामा एक हजार सात सय ९० जनाको उजुरी परेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा सात सय ५४ पुरुषले घरेलु हिंसा विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । आ.व. २०७६/०७७ मा आठ सय ७४, २०७७/०७८ मा एक हजार दुई सय ८२ हुँदै आर्थिक वर्ष २०७९/०८० मा बढेर १ हजार सात सय ९० पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई आजभोलि पुरुषहरू पनि आफूमाथि भएको हिंसाबारे उजुरी दिन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरुषमाथि पनि हिंसा हुन्छ र ? भन्ने समाज छ तर पुरुषमाथि हिंसा भएका धेरै घटना सुनिन्छन् । कतिपयले हिंसा सहेर बसे पनि पछिल्लो समय उजुरी दिनेको संख्या बढ्दै गएको छ ।”
घरेलु हिंसा जहिले पनि शक्ति र सत्तासँग जोडिएको हुन्छ । हामी पितृसत्तात्मक सोच भन्छौं नि यो सोच पुरुषमा मात्र हुँदैन, महिलामा पनि हुन्छ । किन भन्दा जब मान्छेसँग शक्ति हुन्छ, पैसा हुन्छ त्यो वेला महिलामा पनि पितृसत्तात्मक सोच हुन सक्छ ।
राईका अनुसार उजुरी दिने सबैभन्दा बढी पुरुष वैदेशिक रोजगारीका क्रममा गएकाहरू छन् । उहाँ थप्नुहुन्छ, “खाइनखाइ विदेशमा परिश्रम गरेकाहरू घर फर्कंदा न पैसा हातमा हुन्छ न श्रीमती । छोराछोरीको हालत पनि बिजोग भएको हुन्छ । अहिले अधिकांश पुरुष यस्तै समस्या लिएर न्यायको लागि आउनुहुन्छ ।”
समाजशास्त्री निर्मला ढकाल पुरुषमाथि यस्ता हिंसा पहिले पनि हुने गरेको तर न्यायको लागि बाहिर नआउँदा थाहा नपाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लैङ्गिक हिंसा महिलालाई मात्र हुन्छ भन्ने होइन । महिला, पुरुष, तेस्रोलिङ्गी सबैलाई भइरहेकै हुन्छ । पछिल्लो समय पुरुष पनि हिंसाका विरुद्ध उभिएकाले घटना बाहिर आउन थालेका हुन्, जुन राम्रो पक्ष हो ।”
अधिवक्ता शशी बस्नेत कानूनले महिला, पुरुष, बालबालिका, तेस्रोलिङ्गी सबैलाई आफूमाथि भएको हिंसाबारे उजुरी दिने व्यवस्था गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिंसा महिलालाई मात्र होइन, पुरुषलाई पनि हुन सक्छ । तर, हाम्रो समाज र न्यायालयले घरेलु हिंसा भनेको महिला विरुद्धको हिंसा हो भनेर बुझेको छ । जसले गर्दा हिंसामा परेका पुरुषलाई बाहिर आउन सहज लाग्दैन ।”
हाम्रो समाज र न्यायालयले बुझेन
शशी बस्नेत, अधिवक्ता
घरेलु हिंसाको कुरा गर्दा हाम्रो समाज र कानूनलाई हेर्नुपर्ने हुन्छ । जुन वेलामा हाम्रो कानून बन्यो, त्यो वेलामा घरेलु हिंसामा महिलाको इस्सुलाई बाहिर निकाल्नुपर्छ भनेर बन्यो । घरेलु हिंसासम्बन्धी कानून सबै वर्गलाई समेट्ने गरेर बनेको छ । तर, यसमा समाजको बुझाइ फरक छ । घरेलु हिंसा भनेको महिला विरुद्धको हिंसा हो भन्ने बुझाइ छ वास्तविकता त्यसो होइन ।
भारतको कानूनको कुरा गर्दा; त्यहाँ घरेलु हिंसालाई महिला विरुद्धको हिंसा भनेको मानिन्छ । त्यस्तै; कतिपय देशमा घरेलु सम्बन्धभित्र हुने हिंसाको रूपमा हेरेको छ । हाम्रो कानूनले घरभित्रको सम्बन्धमा हुने हिंसालाई घरेलु हिंसा मान्नुपर्छ भनेको छ । घरभित्रको सम्बन्धको परिभाषामा त्यो जन्मको आधारमा भएको सम्बन्ध हुन सक्छ वा विवाहको आधारमा भएको हुन सक्छ भनेको छ । त्यस्तै; काम गर्ने हिसाबले यदि एउटै घरमा बसेको छ भने त्यो श्रमिकलाई पनि घरेलु सम्बन्धभित्र पारेको छ । हाम्रो कानून बृहत् रूपमा छ ।
कानूनमा यति स्पष्ट हुँदाहुँदै पनि व्यवहारतः गलत बुझाइले समस्या पारेको हो । पुरुष पनि घरेलु हिंसाभित्र पर्न सक्छ । महिला, बालबालिका पनि पर्न सक्छन् । अथवा जो आर्थिक, सामाजिक, राजनीतिक हिसाबले पछाडि छ, जो शक्तिको पहुँचमा छैन, त्यस्ता व्यक्तिहरू हिंसामा पर्न सक्छन् । त्यस्तै; अपाङ्गता भएका व्यक्तिहरू पर्न सक्छन् ।
कुनै महिलालाई कसैले चरित्रमाथि औंला उठायो भने एकदम ठूलो इस्सु बन्छ तर त्यही कुरामा पुरुषलाई कसैले दोष लगायो भने अथवा कसैले यो केटा त कस्तो चरित्रहीन छ भन्यो भने सामान्य रूपमा लिने चलन छ ।
यस्तो बुझाइले गर्दा हामी पुरुषलाई भएको घरेलु हिंसालाई अनौठो तरिकाले लिन्छौं । जसका कारण प्रहरीमा पुगेका सबै हिंसा अदालतमा दर्ता नहुन सक्छन् । यदि भइहालेमा पनि त्यसलाई हेर्ने नजर फरक हुन्छ ।
घरेलु हिंसा जहिले पनि शक्ति र सत्तासँग जोडिएको हुन्छ । हामी पितृसत्तात्मक सोच भन्छौं नि यो सोच पुरुषमा मात्र हुँदैन, महिलामा पनि हुन्छ । किन भन्दा जब मान्छेसँग शक्ति हुन्छ, पैसा हुन्छ त्यो वेला महिलामा पनि पितृसत्तात्मक सोच हुन सक्छ । आफूभन्दा कमजोर अवस्थाको श्रीमान् अथवा देवर वा दाजुभाइ परिवारमा छ भने उसले शक्तिको दुरुपयोग गर्न सक्छ । अपाङ्गता भएको पुरुष व्यक्ति अथवा कुनै पुरुष महिलामा आश्रित छ भने पनि त्यो पुरुषले हिंसा सहनुपरेको हुन सक्छ । तर, यो कुरालाई हाम्रो समाजले यसरी हेर्दैन ।
कुनै महिलालाई कसैले चरित्रमाथि औंला उठायो भने एकदम ठूलो इस्सु बन्छ तर त्यही कुरामा पुरुषलाई कसैले दोष लगायो भने अथवा कसैले यो केटा त कस्तो चरित्रहीन छ भन्यो भने सामान्य रूपमा लिने चलन छ ।
आत्मसम्मानमा चोट लाग्ने कुराहरू गर्न नपाइने कुरा हाम्रो कानूनले गरेको छ । यदि त्यसो भयो भने मानसिक यातना हुन्छ भनेको छ । जसरी महिलालाई अपशब्द प्रयोग गर्यो भने आत्मसम्मानमा चोट लाग्छ, हिंसा हुन्छ भन्छौं त्यसै गरी पुरुषलाई अपशब्द बोल्यो भने पनि हिंसा हुन्छ ।
मर्दको ट्यागले पुरुषलाई खुल्न गाह्रो
निर्मला ढकाल, समाजशास्त्री
हाम्रो समाजले पुरुषलाई मर्दको ट्याग लगाउँदा हाम्रा पुरुष साथीहरू आफूमाथि भएको अन्याय सहेर बस्नुपरेको छ । समाजले पुरुषलाई घरको मुली बनाइदिएको छ, बहादुर, मर्द बनाइदिएको छ । छोरा मान्छे रुनु हुँदैन, मर्दले यसो गर्न हुँदैन भन्ने जुन मान्यता बनाइएको छ, यसैलाई पनि पुरुषमाथिको हिंसा भन्न मिल्छ । यसलाई तोड्दै पुरुषहरू विस्तारै आफूमाथि भएको अन्यायमाथि बोल्न थालेका छन् ।
पहिले पनि यस्ता हिंसा भइरहेका हुन्थे तर न यसमा पुरुषलाई मलाई अन्याय भएको छ भन्ने लाग्थ्यो न हामीले भन्थ्यौं । तर, आजभोलि पुरुषमाथि भएका घटनाबारे पनि आवाज उठ्न थालेका छन् । यो सकारात्मक पक्ष हो ।
समाजले पुरुषलाई हिंसा हुन्छ भन्ने बुझ्न सक्यो भने स्वयं पुरुषले पनि मलाई हिंसा भएको छ, मैले बोल्नुपर्छ भनेर खुलेर बाहिर आउन सक्छ, आउनुपर्छ ।
श्रोत : नेपालमत