नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार नेपालगन्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय र कपास विकास समितिमा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।
बाँकेमा क्षेत्र नम्बर १ मा सर्वोच्च अदालतका इजलास अधिकृत सरोजनिधि वाग्ले, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतमा बाँके जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहाल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिबक्ता दशरथ गौतम रहनुभएको छ ।