नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीला मञ्चनले यहाँको रौनकता बढाएको छ । विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि एक सय ५६औँ संस्करणअन्तर्गत नाटक मञ्चन सुरु भएको हो ।
नेपालगञ्जको रामलीला मैदानमा रातिको समयमा मानिसहरुको निकै चहलपहल बढेको छ । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन भइरहेको भगवान् श्रीरामको भूमिकामा रहनुभएका भारत वृन्दावनका कलाकार राधारमण शर्माले बताउनुभयो ।
शर्मासहित २५ जना भारतीय कलाकारको समूहले रामायणमा आधारित रामलीला मञ्चन गरिरहेका छन् । भगवान् श्रीराम र सीताको जीवनलाई वृन्दावनबाट आएका भारतीय कलारकाले घटस्थापनाको दिनदेखि सुरु भएको रामलीला मञ्चन एकादशी अर्थात् दसैँको भोलिपल्टसम्म यसैगरी प्रस्तुत गर्ने गर्छन् ।
नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीलालाई यहाँका स्थानीय अवधी समुदायले डेढ सय वर्षदेखि संरक्षण गरिरहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।
“यो वर्ष विगतका वर्षहरूमा जस्तै धुमधामसँग रामलीला महामहोत्सव सञ्चालन गरेका छौँ”, अध्यक्ष कनोडियाले भन्नुभयो, “भारतको वृन्दावनबाट कलाकार ल्याएर रामलीला मञ्चन गरिएको छ ।” एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।
नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुषयज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।
यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको कनोडियाको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार, रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुआत गर्नुभएको थियो ।
नेपालगञ्जको परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले बताउनुभयो । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन् ।
रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले बताउनुभयो । उहाँले नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको बताउनुहुन्छ ।
एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने सञ्चालक समितिको भनाइ छ । देशकै पहिलो सामाजिक तथा नागरिक संस्थाका रुपमा पहिचान बनाएको रामलीलाले ऐतिहासिक विरासत थामिरहेको अवधी संस्कृतिका जानकार विष्णुलाल कुमाल बताउनुहुन्छ । रामलीला सामाजिक सद्भावको प्रतीकसमेत बनेको कशौधन वैश्य समाज बाँकेका पूर्वअध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ ।