नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ बर्षामा हुने डुबानको समस्यालाई ध्यान दिएर साना ठूला सबै नाला सफाई गर्न थालेको छ । नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार, पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम थालिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताउनुभयो ।
बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौं,’ जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिने छशर्माले भन्नुभयो ।
भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाईको अवलोकन गर्न नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इन्जिनियर शर्मा त्यहाँ पुग्नुभएको थियो ।
नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाहरुको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताउनुभयो ।
‘सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट ९अन्तिम विन्दु० भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ,’ विष्ट भन्नुहुन्छ । उहाँले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताउनुभयो ।
नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्थामा पाइएको जानकारी दिंदै नगर प्रमुख विष्टले कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था नरहेकोले कतिपय ठाँउमा मान्छे नै लगाएर सफाई गरिरहेको बताउनुभयो ।
विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम हुँदा समस्या ज्यूँकात्यूँ रहेकाले यसपटक अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेको उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गरिंदा नेपालगञ्ज डुबान हुनबाट जोगिने नगर प्रमुख विष्टको विश्वास छ । एक महिनामा सफाई सक्ने गरी काम अघि बढाइएको बताइएको छ ।
सरसफाइका क्रममा कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारी समेत उम्रिएको पाइएको छ ।