काठमाडौं । प्रविधिले फड्को मारेका कतिपय उन्नत देशमा बालबच्चालाई कथा सुनाउने प्रचलन छ । यसले उनीहरुलाई मोबाइल, ल्यापटपको लतबाट जोगाएको मात्र छैन, भावनात्मक विकास पनि राम्ररी भएको छ । सानैदेखि कथा सुन्ने बच्चामा पुस्तकप्रति लगाव बढ्ने र पठन संस्कृतिको विकास हुने लेखक सुविन भट्टराईको बुझाइ छ ।
‘सही अभिभावकत्वका लागि बालबच्चालाई कथा सुनाउनु सर्वोत्तम हो,’ लेखक भट्टराई भन्छन्, ‘यसले उनीहरुमा कल्पनाशीलता, सिर्जनशीलता बढ्छ ।’
हामीकहाँ पनि लोरी सुनाउँदै सुताउने प्रचलन थियो विगतमा । जतिबेला इन्टनेट थिएन, मोबाइल र टेलिभिजन थिएन । त्यसबेला बुवाआमाले बच्चालाई कथा सुनाउने गरिन्थो । बालसाहित्य लेखक कृष्णदीप सिग्देल सुनाउँछन्, ‘हजुरबा-हजुरआमाको काखमा पल्टिएर वा बुवाआमाको छातीमा टाँसिएर कथा सुन्नु निकै आनन्दमय हुन्थ्यो ।’
पहिले पहिले कथा सुनाउँदा ‘एकादेशमा एउटा देश थियो’ भन्ने वाक्यांशबाट सुरु हुन्थ्यो । यसरी बच्चालाई स्वैरकाल्पनिक दुनियाँमा पुर्याइन्थ्यो र रहस्य, संघर्ष, सफलताको कथा भनिन्थ्यो । यस्ता कथाबाट उनीहरुलाई जीवन र जगतका थुप्रै कुरा बुझाउन सकिन्थ्यो । नैतिकता र आचरणको कुरा सिकाउन सकिन्थ्यो । सत्य र असत्यबीचको भेद छुट्याउन सिकाइन्थ्यो ।
कथा सुन्ने, पढ्ने बानीको विकासले बच्चामा किताबप्रति भावनात्मक लगाव बढ्छ । लेखक सिग्देल भन्छन्, ‘संस्कार, संस्कृति, व्यवहार र भाषाको विकास गर्न बालबालिकालाई कथा सुनाउनु एकदमै महत्त्वपूर्ण हुन्छ ।’
लेखक भट्टराई भन्छन्, ‘म अहिले छोरोलाई परी र राजकुमारीहरूको पुरानो कथा भन्दा पनि नयाँ सामाजिक कथा तत्काल सिर्जना गरेर उसलाई सुनाउँछु ।’
सुविनका अनुसार एउटा कथा सुनाउनासाथ बच्चाले अर्को कथा सुन्ने इच्छा राख्छ । कहिलेकाहीं त उनी आफैंले कनीकुथी कथा भन्ने जमर्को पनि गर्छ ।
कथा हरायो, मोबाइलमा रमायो
अहिले आमाबुवाहरुले बच्चालाई कथा भन्ने प्रचलन हराउँदै गएको लेखक भट्टराईको बुझाइ छ । बुवाआमाले बालबच्चालाई कथा भन्ने भन्दा पनि मोबाइल दिएर वा टीभीको रिमोट दिएर अलग्गै राख्ने गर्छन् । यसैले गर्दा बच्चाहरु अहिले आमाबुवाको सामीप्य खोज्ने भन्दा पनि मोबाइलमा लम्पट हुने प्रवृत्ति बढ्दो छ ।
‘अहिले बालबच्चालाई हामीले गलत ढंगले हुर्कारहेका छौं,’ भट्टराई भन्छन् ।
अहिले बालबच्चा मोबाइलमा भिडियो हेरेर, गेम खेलेर रमाउन अभ्यस्त हुँदैछन् । उनीहरु टिकटक, फेसबुकमा लिप्त हुँदैछन् । आधुनिक उपकरणमा अभ्यस्त हुनु त राम्रो हो यद्यपि त्यसमा सम्प्रेषण हुने सामग्री बालमैत्री छैनन् । त्यसैले उनीहरुको बाल मानसिकतामा फाइदा पुर्याउने भन्दा पनि हल्का मनोरञ्जन, हिंसा, बदलाजस्ता कुरामा उक्साइरहेको मनोविद्हरुको विश्लेषण छ ।
बाल मनोचिकित्सक डा. अरुण कुँवर भन्छन्, ‘अहिले बालबच्चाहरू ओछ्यानमा पल्टिएपछि मोबाइल खेलाउँछन् । यसले उनीहरूको निद्रा खलबलिएको मात्र छैन, अनावश्यक सामग्रीहरू हेर्ने, सुन्ने प्रवृत्ति विकास हुँदै गएको छ ।’
मोबाइल खल्तीमा, किताब हातमा
बाल्यकालमै कथा सुन्ने बानीले गर्दा उनीहरुमा पठन संस्कृतिको विकास हुने र यसले उनीहरुको रचनात्मक क्षमता बढ्ने लेखक भट्टराईको बुझाइ छ ।
कथा सुन्ने, पढ्ने बानीको विकासले बच्चामा किताबप्रति भावनात्मक लगाव बढ्छ । लेखक सिग्देल भन्छन्, ‘संस्कार, संस्कृति, व्यवहार र भाषाको विकास गर्न बालबालिकालाई कथा सुनाउनु एकदमै महत्त्वपूर्ण हुन्छ ।’
बाल मनोचिकित्सक कुँवरका अनुसार पुस्तक पढ्ने वा कथा सुन्ने बानीले बच्चाको भावनात्मक विकास राम्ररी हुनपुग्छ । उनीहरुमा यसले सकारात्मक प्रभाव पार्छ । धैर्यता, विनम्रता, नैतिकता, मानवताको कुरा सिक्छन् । कुँवर भन्छन्, ‘खाली समयमा दैनिक कम्तीमा पनि आधा घण्टा बच्चालाई कथा सुनाउनुपर्छ ।’
कथा सुनाउने प्रवृत्तिले बच्चाको कल्पनाशीलता र रचनात्मक क्षमता बढाउन सहयोग गर्छ । यसरी कथा सुनेर हुर्किएका बच्चाहरूले पढ्न लेख्न पनि छिटो सिक्छन् । यसले उनीहरूको बौद्धिक क्षमता, ज्ञान भण्डार बढाउन पनि मद्दत गर्ने कुँवर बताउँछन् ।
कस्तो कथा सुन्छन् बालबालिका ?
बालबालिकाको स्वभाव चञ्चले हुन्छ । उनीहरू साना-साना गल्तीहरूलाई छोप्न ढाँट्न पाए भने खुसी हुने रमाउने गर्छन् । गम्भीर विषयलाई बालबालिकाले रुचाउँदैनन् । उनीहरूलाई रमाइलो चिज र कल्पना मन पर्छ । बालबालिकालाई पढ्नतिर रुचि गराउने हो भने मनोरञ्जनले भरिएको कथाहरू सुनाउनुपर्छ ।
बाल मनोचिकित्सकका अनुसार कथामा यस्ता पात्रहरू तयार गरिदिनुपर्छ जुन पात्रमा बालबालिकाले आफूलाई देखुन् । उनीहरूलाई रुचि नभएको कथा सुनाइयो वा पढ्न दिइयो भने उनीहरूले पढे सुने पनि स्मरण भने गर्दैनन् । बालबालिकालाई धनी गरिबको कुरा, धर्म संस्कृतिको गहन कुरा कथा मार्फत दिन खोज्नु हुँदैन । उनीहरूको स्वभाव अनुसारको पात्र भएको कथा सिर्जना भयो भने त्यसलाई बालबच्चाले रुचाउँछन् ।
छैन बालरचना
बाल साहित्य लेखक सिग्देलका अनुसार पहिले बालबालिकाका लागि बनेका साहित्य धेरै नैतिक शिक्षासँग जोडिएको हुन्थ्यो । ठूलाको सोच अनुसार रचना भएका किताब उपदेशको हिसाबले ठिकै हुन सक्ला तर बालबालिकाले त्यसलाई रुचाउँछन् कि रुचाउँदैनन् भनेर अध्ययन गरेर भने बनेका थिएनन् ।
पछिल्ला दिनहरूमा भने बालकालकाको रुचिलाई विचार गरेर उनीहरूको आवश्यकता पूर्ति गर्ने खालको साहित्य रचना हुनुपर्छ भन्ने सोच विकास भएको छ र त्यसै अनुरूपका बाल साहित्य लेख्ने क्रम पनि सुरु भएको सिग्देल बताउँछन् ।
अहिले हामीसँग भएका बालसाहित्य सबै बालमैत्री भने छैनन् । तर त्यसको विकास भने भइरहेको छ । हाम्रा बालबच्चामा पठन संस्कृति नहुनुको विभिन्न कारण छन् । सरकारको नीति र पाठ्यक्रमको संरचना बालबालिकामा पठन संस्कृति विकास गर्ने खाले छैन, बालबालिकालाई पढौं पढौं लाग्ने, आकर्षण गर्ने खाने बालसाहित्य नबनेका उनको तर्क छ ।
‘विद्यालयले किताबको बोझ यति धेरै राखिदिएका छन् कि अरू बाहिरी किताब पढ्ने समय नै हुँदैन बालबालिकासँग । अभिभावकले पनि बालबालिकालाई भौतिक किताबभन्दा पनि मोबाइल थमाइदिएका हुन्छन् जसले उनीहरूमा पठन संस्कृति विकास हुन नसकेको हो,’ सिग्देल भन्छन् ।
बाल मनोविज्ञान अनुरूपका पुस्तकहरू नभएर पनि बालबालिकामा पठन संस्कृतिको विकास नभएको उनी बताउँछन् ।
उनीहरूको आवश्यकता र रुचि अनुसारको पुस्तक नै बालमैत्री हुन्छ । बच्चाले यो मेरो हो भनेर अनुभव गर्न सक्ने चिजलाई बालमैत्री भनिन्छ । बाल साहित्यको बारेमा चर्चा गरिदिने र बाल साहित्य सर्जकले चर्चा गरिदिने माध्यम नभएर केही राम्रो बाल साहित्य पनि ओझेलमा परेको सिग्देलको भनाइ छ ।
बाल मनोविज्ञान अनुसार कथा
बच्चाको उमेर समूह अनुसारका कथा सुनाउनुपर्ने सिग्देल बताउँछन् । तीन वर्षमुनि, तीनदेखि पाँच वर्ष, पाँचदेखि सात वर्ष, नौदेखि १२ र १२ वर्षभन्दा माथि गरेर बालबालिकाको उमेर समूह विभाजन गर्न सकिन्छ । प्रत्येक उमेर समूहको रुचि र क्षमता पनि फरक हुन्छ । त्यसैले उसको उमेर समूह अनुसारको बाल साहित्यको रचना हुनुपर्ने सिग्देल बताउँछन् ।
‘नौ वर्षभन्दा कम उमेरका बालबालिकाले रंगीन चित्र भएको पुस्तक रुचाउँछन्,’ उनी भन्छन्, ‘नौ वर्षमाथिका बालबालिकाले थोरै चित्र र धेरै भाषा रुचाउँछन् । त्यही अनुसारको बाल साहित्य बन्यो भने उनीहरूले मन पराउँछन् ।’ स्रोत ः अनलाइनखबर