दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ ।
बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुईसय बिघा जमिनमा पनि सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अधयक्ष गोविन्द नेपालीले बताउनुभयो।
उहाँका अनुसार उक्त ड्याम निर्माण भएपछि सिंचाई मात्रै नभई आसपासका कुवा तथा इनारहरुमा पानीको स्तर बढेको छ । यसले गर्दा पानीको सहजता भएको छ । विगतमा चैत महिनामै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताउनुभयो ।
उहाँका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ। यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुकासाथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताउनुभयो । सोही ड्याममा डुंगा पनि छ । त्यसलाई सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ ।
–––