अधिबक्ता मीना पराजुली
२३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो मेरो अस्तित्व, पहिचान र भविष्यलाई नयाँ दिशातर्फ मोड्ने ऐतिहासिक क्षण थियो । स्थापित वकालत पेशाबाट बाहिरिने निर्णय सहज थिएन, तर त्यस निर्णयभित्र समाजसँग जोडिने, मानिसहरूको जीवनमा अर्थपूर्ण योगदान गर्ने र सामाजिक रूपान्तरणको यात्रामा समर्पित हुने गहिरो आह्वान थियो ।
पूर्वका झापा–मोरङका हरिया फाँटहरूबाट सुरुभएको मेरो पेशागत विकास यात्रा आज २५ वर्षको लामो अनुभव बोकेर यहाँसम्म आइपुगेको छ । यो केवल भौगोलिक दूरी पार गर्ने यात्रा मात्र थिएन, यो त संघर्ष, अनुभूति र आत्म–खोजको यात्रा पनि थियो ।
बागमती, लुम्बिनी, गण्डकी, मधेश, कोशी, कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रहरूमा पुग्दा मैले केवल स्थानहरू परिवर्तन गरिनँ, हरेक ठाउँ र हरेक भेटघाटले मेरो सोचलाई फराकिलो बनायो, संवेदनशीलता गहिरो बनायो र जिम्मेवारी बोध अझ बलियो बनायो । हिमालका कठिनभू–भाग, पहाडका उकालो–ओरालो र तराईका विस्तृत फाँटहरूले मलाई धैर्य, सहनशीलता र जीवनका विविध आयामहरू बुझ्न सिकाए ।
‘लुथरन वल्र्ड फेडेरेसन’बाट सुरु भएको मेरो पेशागत यात्रा सेभ द चिल्ड्रेन हुँदै प्लान इन्टरनेशनल नेपालसम्म आइपुग्दा, मैले केवल संस्थाहरू मात्र परिवर्तन गरिनँ, मैले अनुभव, सिकाइ र दृष्टिकोणको दायरा पनि विस्तार गरेँ ।
‘लुथरन वल्र्ड फेडेरेसन’बाट सुरु भएको मेरो पेशागत यात्रा सेभ द चिल्ड्रेन हुँदै प्लान इन्टरनेशनल नेपालसम्म आइपुग्दा, मैले केवल संस्थाहरू मात्र परिवर्तन गरिनँ, मैले अनुभव, सिकाइ र दृष्टिकोणको दायरा पनि विस्तार गरेँ । यी संस्थाहरू मेरोलागि कार्यस्थल मात्र थिएनन्, ती सिकाइका विद्यालय र सहयात्राका परिवार जस्तै थिए, जहाँ सफलताले उत्साह दियो र चुनौतीहरूले अझ परिपक्व बन्न सिकाए । यो यात्रामा कहिले उपलब्धिहरूले आत्मविश्वास बढाए, त कहिले कठिन समयहरूले धैर्य र दृढता परीक्षण गरे ।
आज पछाडि फर्केर हेर्दा, विकास क्षेत्र मेरो लागि केवल पेशामात्र रहेन, यो मेरो जीवन दृष्टि, प्रतिबद्धता र पहिचानको अभिन्न हिस्सा बनेको छ । यो यात्रा कामको सीमा भन्दाधेरै माथि उठेर मानिस, समाज र परिवर्तनसँग जोडिएको आत्म–यात्रा बनेको छ ।
समुदायसँगको सहकार्यले मलाई सिकायो, विकास केवल योजना, सूचकांक र प्रतिवेदनमा सीमित उपलब्धि होइन । यसको वास्तविक अर्थ मानिसहरूको जीवनमा देखिने साना–साना परिवर्तन, बढेको आत्मविश्वास र आशाका उज्याला क्षणहरूमा भेटिन्छ । समुदायसँग बसेर उनीहरूका पीडा, संघर्ष र सम्भावनाका कथा सुन्नु केवल संवाद थिएन, त्यो जीवनका गहिरा अनुभवहरू बुझ्ने अवसर थियो । किशोरी र बालबालिकासँग उनीहरूका सपना, डर र जिज्ञासाहरू साझा गर्दा म केवल श्रोता मात्र रहिनँ,उनीहरूका भविष्यसँग जोडिएको एक सहयात्री बनेँ ।
विपद्पछिको कठिन समयमा परिवार र समुदायसँग उपस्थित हुँदा मैले महसुस गरेँ कतिपय अवस्थामा शब्दभन्दा उपस्थितिले नै ठूलो साथ दिन्छ । त्यो सहानुभूति, भरोसा र मानवीयताको वास्तविक अभिव्यक्ति हो । यी अनुभवहरूले मलाई पेशागतरूपमा मात्र होइन, मानवीयरूपमा पनि समृद्ध बनाएका छन् ।
सन २००८ को कोशी बाढी, २०१४ मा बाँके, बर्दिया र सुर्खेतमा आएको बाढी–पहिरो, तथा २०१५ को विनाशकारी भूकम्पपछि नुवाकोटमा गरिएको जिम्मेवारी, यी सबै मेरा लागि केवल विपद् प्रतिकार्य थिएननस ती धैर्य, साहस र प्रतिबद्धताको परीक्षा थिए ।
पराकम्प, भय र अनिश्चितताबीच पनि संस्थाले दिएको जिम्मेवारीलाई मैले केवल पेशागत दायित्वका रूपमा होइन, समुदायले गरेको विश्वासका रूपमा लिए । कठिन परिस्थितिमा पनि उपस्थित रहनु, सुन्नु र साथ दिनु नै मेरो प्राथमिकता बन्यो ।
सन २०२० मा कालिकोटको पहिरो र जुम्लाको बाढी–पहिरोले फेरि त्यही पाठ सिकायो । त्यसै वर्ष आएको कोभिड–१९ महामारी अर्को ठूलो चुनौती बनेर आयो । नेपालगञ्ज सीमामा भारतबाट फर्किएका थकित, त्रसित र अनिश्चित भविष्य बोकेका नागरिकहरूसँग काम गर्दा मैले राहतसामग्री मात्र बाँडि रहेकी थिइनँस म उनीहरूको आशा र आत्मविश्वास जोगाउन एउटा सानो प्रयास गरिरहेकी थिएँ । जोखिम पूर्ण परिस्थितिमा भोजन, सरसफाइ सामग्री वितरण, क्वारेन्टिन व्यवस्थापन र सचेतना अभियानमा संलग्न हुँदा व्यक्तिगत डर भन्दा कर्तव्यलाई अगाडि राखेँ ।
यी यात्राहरूले मलाई एउटा गहिरो सत्य सिकाएका छन्, विकास भनेको केवल संरचना निर्माण मात्र होइनस यो मानिससँग जोडिने, उनीहरूको आवाज सुन्ने र कठिन समयमा उनीहरूसँगै उभिने मानवीय प्रतिबद्धता हो । सायद त्यसैले, सरकार वा अन्य सरोकारवालाहरूबाट प्राप्त प्रशंसा मेरा लागि कहिल्यै अन्तिम उपलब्धि बनेन ।
मेरो सबैभन्दा ठूलो सन्तुष्टि ती क्षणहरूमा भेटिन्छ, जब कसैको आँखामा “हामी एक्ला छैनौँ” भन्ने भरोसा देखिन्छ, जब पीडाले थाकेको अनुहारमा सानो मुस्कान फर्किन्छ, र जब मानवीयताको एउटा सानो प्रयासले ठूलो दुःखलाई केही क्षणका लागि भए पनि हल्का बनाउँछ ।
यी यात्राहरूले मलाई एउटा गहिरो सत्य सिकाएका छन्, विकास भनेको केवल संरचना निर्माण मात्र होइनस यो मानिससँग जोडिने, उनीहरूको आवाज सुन्ने र कठिन समयमा उनीहरूसँगै उभिने मानवीय प्रतिबद्धता हो । सायद त्यसैले, सरकार वा अन्य सरोकारवालाहरूबाट प्राप्त प्रशंसा मेरा लागि कहिल्यै अन्तिम उपलब्धि बनेन ।
मेरो सबैभन्दा ठूलो सन्तुष्टि ती क्षणहरूमा भेटिन्छ, जब कसैको आँखामा “हामी एक्ला छैनौँ” भन्ने भरोसा देखिन्छ, जब पीडाले थाकेको अनुहारमा सानो मुस्कान फर्किन्छ, र जब मानवीयताको एउटा सानो प्रयासले ठूलो दुःखलाई केही क्षणका लागि भए पनि हल्का बनाउँछ । यी अनुभवहरू मेरो यात्राका अमूल्य अंश हुन्, जसले हरेक संकटमा अझ संवेदनशील, दृढ र मानवीय बन्न सिकाएका छन् ।
विकास क्षेत्रमा कार्य गर्ने क्रममा मैले सुशासन, साझेदारी, अधिकारमा आधारित विकास दृष्टिकोण, परियोजना व्यवस्थापन, लैङ्गिक समानता, समावेशिता, संरक्षण, मानव संसाधन व्यवस्थापन तथा मानवीय सहायताका विविध आयामहरूमा काम गर्ने अवसर प्राप्त गरेँ। ५० भन्दाबढी नागरिक समाज संस्थाहरूसँगको सहकार्य, समुदायसँगको निरन्तर संवाद, सरकारी संयन्त्रसँगको समन्वय र विकास साझेदारहरूसँगको सहकार्यले मलाई एउटा महत्वपूर्ण सत्य अनुभूति गरायो विकास कुनै एक व्यक्ति वा संस्थाको एकल प्रयासबाट सम्भव हुँदैन ।
विकास सहकार्यबाट जन्मिन्छ, विश्वासबाट बलियो बन्छ र साझा प्रतिबद्धता, उत्तरदायित्व तथा निरन्तर प्रयासबाट मात्र दिगो हुन्छ ।तर यो यात्रा सधैं सहज थिएन । विशेष गरी सन २००१ तिर एक महिलाका रूपमा विकास क्षेत्रमा प्रवेश गर्नु र आफ्नो स्थान निर्माण गर्नु आफैंमा चुनौती पूर्ण थियो । त्यो समय विकास क्षेत्र अझै पुरुष प्रधान थियो । लैङ्गिक समानता, समावेशी कार्यस्थल र कर्मचारी अधिकारका विषयहरू आज जस्तो संस्थागतरूपमा स्थापित भइसकेका थिएनन् ।
त्यही समयको एउटा अनुभव आज पनि स्मरणीय छ । बुवाको निधन हुँदा मैले पाँच दिनको मात्र शोक बिदा पाएँ, जबकि पुरुष सहकर्मीहरूले १३ दिनको बिदा पाउँथे । यस असमानताले मलाई व्यक्तिगत पीडा मात्र दिएन, कार्यस्थलमा रहेको लैङ्गिक विभेदको यथार्थ पनि देखायो । मैले मौन बस्नुको सट्टा संवाद र परिवर्तनको बाटो रोजेँ । परिणामस्वरूप, पछि महिला कर्मचारीहरूका लागि पनि समान १३ दिनको शोक बिदा व्यवस्था लागू भयो ।
हिमाल र पहाडका दुर्गम क्षेत्रमा काम गर्ने अनुभवहरू पनि कम चुनौती पूर्ण थिएनन् । कतिपय रातहरू ढोकाको चुक्कुल नभएको कोठामा, खोलाबाट ल्याएका ढुंगाले ढोका अड्याएर बिताउनु पथ्र्यो । कहिले उडुसको समस्या, कहिले कठ्याङ्ग्रिँदो चिसो, त कहिले न्यूनतम सुविधाको अभाव यी सबै यात्रा जीवनका कठिन तर महत्वपूर्ण पाठ बने ।
कतिपय दिनहरू थकान र अभावसँगै बिते, तर उद्देश्यले पाइला रोक्न दिएन । सन् २००९ तिर कर्णालीका दुर्गम गाउँहरूमा यातायातको सुविधा नहुँदा दिनौँसम्म पैदल यात्रा गर्नुपथ्र्यो । उकालो–ओरालो पार गर्दै, खोलानाला तर्दै र कठिन भूगोलसँग जुध्दै । शरीर थाक्थ्यो, खुट्टा सुन्निन्थे, रातभर दुखाइले आँखा चिम्लनसमेत गाह्रो हुन्थ्यो । तर समुदायसम्म पुग्ने प्रतिबद्धताले हरेक कठिनाइ पार गर्ने शक्ति दिन्थ्यो ।
यी संघर्षहरूले मलाई सिकाए सेवा केवल सहज परिस्थितिमा गरिने काम होइन, यो त कठिन समयमै आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने यात्रा हा। आज ती दिनहरू सम्झँदा पीडासँगै गर्व पनि महसुस हुन्छ, किनकि तिनै अनुभवहरूले मलाई अझ बलियो, धैर्यवान र परिपक्व बनाएका छन् ।
अर्कोतर्फ, व्यक्तिगत जीवनका आफ्नै पीडाहरू पनि थिएसायद अझ गहिरा, अझ मौन । सानै उमेरका छोराछोरीलाई घरमा छोडेर दुर्गम क्षेत्रमा काम गर्न जानुपर्दा मनमा उठ्ने खालीपन, उनीहरूको बाल्यकालका महत्वपूर्ण क्षणहरू छुटाउनु परेको पीडायी सबै अनुभूतिहरू म भित्रैभित्रै बोकेर आफ्नो यात्रामा अघि बढिरहेकी थिएँ ।
कहिले काहीँ लाग्थ्यो, म दुई फरक संसारबीच उभिएकी छु एकातिर कर्तव्य र जिम्मेवारी, अर्कोतिर माया र परिवार । तर जीवनले सायद यही सिकायो हरेक उपलब्धिको पछाडि कुनै न कुनै त्याग लुकेको हुन्छ ।
यी त्यागहरूले मलाई कमजोर बनाएनन्, बरु अझ जिम्मेवार र संवेदनशील बनाउँदै लगे । मेराबुवा–आमा, सासु–ससुरा, श्रीमान छोरा छोरीको साथ, विश्वास र सहयोग नै मेरो यात्राका महत्वपूर्ण आधारबने । यही समर्थनले मलाई २५ वर्षे लामो सेवाको यात्रामा निरन्तर अघि बढ्ने शक्ति दियो । जीवनका हरेक उतारचढावमा उहाँहरूले देखाउनु भएको अटल विश्वास, धैर्य, माया, त्याग र निरन्तर साथले नै मलाई आफ्नो लक्ष्यप्रति दृढ रहन ऊर्जा प्रदान गर्योअ। व्यावसायिक जिम्मेवारी र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्ने क्रममा उहाँहरूको समझदारी, प्रोत्साहन र समर्थन मेरो सबैभन्दा ठूलो शक्ति रह्यो ।
नेपालको विविध भूगोलसँग काम गर्ने क्रममा मैले बुझें कि विकासलाई एउटै ढाँचामा परिभाषित गर्न सकिँदैन । कर्णालीका दुर्गम गाउँहरूमा विकासको अर्थ आधारभूत आवश्यकतासँग गाँसिएको देखिन्थ्यो, जहाँ अभावका बीच पनि मानिसहरूको अदम्य सहनशीलता र संघर्षले प्रेरित गथ्र्यो ।
उता तराईका समुदायहरूमा सामाजिक संरचना, सांस्कृतिक मान्यता र आर्थिक अवस्थाले फरक खालका चुनौतीहरू प्रस्तुत गर्थे । यी विविधता बीच सन्तुलन मिलाउँदै काम गर्नु केवल प्राविधिक सीपको कुरा थिएन, यो त संवेदनशीलता, धैर्यता र निरन्तर सिकाइको यात्रा थियो ।
कहिले काहीँ थकान यति धेरै हुन्थ्या कि सबै कुरा यहीँ रोकेर फर्किउँ जस्तो लाग्थ्यो । तर त्यहीबेला कुनै एउटा सानो परिवर्तन, कसैको अनुहारमा देखिएको सन्तुष्ट मुस्कान, वा एक साधारण “धन्यवाद” त्यो सबै भन्दा ठूलो ऊर्जा बन्थ्यो । सायद यही नै मेरो यात्राको शक्ति हो जहाँ थकान भन्दा ठूलो आशा हुन्छ, र कठिनाइ भन्दा बलियो उद्देश्य ।
२५ वर्षे यात्रामा प्राप्त विभिन्न सम्मान र प्रशंसामध्ये ११ डिसेम्बर २०२१ मा नयाँ दिल्ली, भारतमा प्राप्त अन्तर्राष्ट्रिय “Dr. Ambedkar National Distinguished Award” मेरो जीवनको विशेष स्मरणीय क्षण रह्यो । महिला, बालबालिका सशक्तिकरण, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्राप्त यो सम्मान मेरो व्यक्तिगत उपलब्धि मात्र थिएन, यो समुदाय, सहकर्मी र यात्राका सहयात्रीहरूको साझा सम्मान थियो । यसले विगतका संघर्ष, सिकाइ र भविष्यप्रतिको जिम्मेवारीलाई अझ गहिरो बनायो ।
मेरो व्यावसायिक यात्रामा साथ, सहयोग, मार्ग दर्शन र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण सुपरभाइजरहरू, सहकर्मीहरू तथा प्रत्यक्ष–अप्रत्यक्षरूपमा जोडिनुभएका सबै प्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
यो यात्राले मलाई समाज बुझ्न मात्र होइन, आफैंलाई चिन्न पनि सिकायो । म केवल एक विकासकर्मी होइन, एक श्रोता, सहयात्री र निरन्तर सिकिरहने विद्यार्थी पनि हुँ । मैले बुझेँ परिवर्तन बाहिरबाट थोपरिने विषय होइनस यो त सहभागिता, विश्वास र आत्मबलबाट जन्मिने प्रक्रिया हो । यस यात्रामा हाम्रो भूमिका केवल सहजकर्ता र सहयात्रीको हुन्छ । म विश्वास गर्छु, सानो प्रयासले पनि परिवर्तनको बीउ रोप्न सक्छ, र मानवता, समानता तथा न्यायका पक्षमा उठाइएका प्रत्येक कदमले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउँछ ।
मेरो व्यावसायिक यात्रामा साथ, सहयोग, मार्ग दर्शन र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण सुपरभाइजरहरू, सहकर्मीहरू तथा प्रत्यक्ष–अप्रत्यक्षरूपमा जोडिनुभएका सबै प्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । सबैको नाम उल्लेख गर्न सम्भव नभएपनि, तपाईंहरूको विश्वास, सहयोग र प्रेरणा मेरो यात्राको अमूल्य आधार बनेको छ ।
विशेष रूपमा, मेरो व्यावसायिक यात्राको प्रारम्भिक चरणमा मार्गदर्शन गर्ने प्रथम सुपरभाइजर आदरणीय तुलसी शर्मा सरप्रति म गहिरो कृतज्ञता व्यक्त गर्दछु । सन् २००१ को अगस्ट महिनामा झापाको दमकस्थित लुथरन वल्र्ड फेडेरेसनबाट विकास क्षेत्रमा पाइला टेक्दा, वकालत पेशाबाट नयाँ यात्रातर्फ अघि बढ्नु मेरो लागि बिल्कुलै नयाँ अनुभव थियो । त्यस बेला प्राप्त मार्गदर्शन, विश्वास र हौसलाले मेरो क्षमता विकास गर्नुका साथै विकास क्षेत्रप्रतिको दृष्टिकोणलाई फराकिलो बनायो । त्यो प्रारम्भिक साथ, प्रेरणा र विश्वास आज पनि मेरो यात्राको बलियो आधार बनेको छ ।
आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र मार्गदर्शन पाइरहने अपेक्षासहित, आफ्ना अनुभव, सिकाइ र यात्राका कथाहरूलाई अझ अर्थपूर्ण रूपमा साझा गर्दै यस क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद्धताका साथ म अघि बढिरहेको छु ।
(मीना पराजुली समाज परिवर्तनलाई जीवनको उद्देश्य बनाउँदै विगत २५ वर्षदेखि नेपालको हिमाल, पहाड र तराईका समुदायसँग काम गर्दै आएकी अनुभवी, संघर्षशील र समर्पित विकासकर्मी हुन्।)