नेपालगन्ज, ५ असोजः नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् । पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएको भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डा बद्री चापागाईंले बताउनुभयो ।
उहाँले नेपालगञ्जमा बाँदरको टोकाइबाट घाइते भई अस्पताल आउने बिरामीको घटना नयाँ भएको बताउनुभयो । “कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै हो”, डा चापागाईंले भन्नुभयो, “तर, अहिले बाँदरले समेत घरघरमै पसेर मान्छेलाई टोकेको केश अचम्म लाग्दो छ ।” उहाँले सहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन र आक्रमण भइहाले तुरुन्तै उपचारको लागि अस्पताल पुग्न सुझाव दिनुभएको छ ।
भेरी अस्पतालमा पछिल्लो पटक सर्प तथा जनावर जन्य टोकाइका घटना बढ्दै गएका छन् । भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डा चापागाईंले दिनुभएको तथ्याङ्कअनुसार पछिल्लो ४५ दिनमा एक हजार ३६ केश जनावरजन्य टोकाइका रहेका छन् ।
सबैभन्दा धेरै कुकुरको टोकाइबाट ८६५, बिरालोबाट ११०, बाँदरबाट ४०, मुसाको टोकाइबाट घाइते भएका २१ जना बिरामी हुनुहुन्छ । यसैगरी यो अवधिमा भेरी अस्पतालमा मात्रै सर्पदंशका ११८ बिरामी उपचारको लागि आएको डा चापागाईंले बताउनुभयो । यो अवधिमै कीराको टोकाइबाट चार जना र टोक्ने जीवजन्तु थाहा नभएका १९ जना बिरामी उपचारको लागि भेरी अस्पतालमा पुगेको तथ्याङ्क रहेको छ ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा नयाँ केश भएको बताउनुभयो । उहाँले बाँदरको टोकाइबाट घाइते बिरामीलाई जङ्गली जनावर मानेर रेविज विरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार बिरामीलाई सहजरुपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
–––