नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठक बाँकेका तीन निर्वाचन क्षेत्रमा सम्पन्न भएको छ ।
बाँकेको निर्वाचन क्षेत्र नं २ मा आज यहाँ भएको निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठकसँगै बाँकेका तीन निर्वाचन क्षेत्रमा सो कार्यक्रम सम्पन्न भएको हो । यस अघि जिल्लाको क्षेत्र नं १ र क्षेत्र नं ३ मा निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठक सम्पन्न भएको र निर्वाचन आचार संहितालाई अक्षरस पालना गर्न दल र उम्मेदवार सहमत भएको जिल्ला निर्वाचन कार्यालय,बाँकेले जनाएको छ ।
आज यहाँ आयोजना भएको सर्वदलीय बैठकमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले निर्वाचन आचारसंहिताले सबैलाई बाधेको उल्लेख गर्दै निर्वाचनलाई निष्पक्ष, विश्वशनीय र पारदर्शी बनाउन आचारसंहिता पालन गर्न आग्रह गर्नुभयो ।
उहाँले निर्वाचन आयोगले ऐनले दिएको अधिकार प्रत्योजन गरेर बनाएको आचारसंहिताले कानूनी हैसियत राख्ने जानकारी दिदै निर्वाचन आचारसंहितामा उल्लेख भएको धेरै कुरा निर्वाचन कसुर र सजाय ऐनमा पनि राखिएको बताउनुभयो ।
“एउटा ऐन बमोजिमको कसुर हुने भो अर्को आचारसंहिता उल्लंघनको पनि हुने भयो” मुख्य निर्वाचन अधिकृत दाहालले भन्नुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्वाचन आचारसंहिता पालना निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि भएको उल्लेख गर्नुभयो ।
उहाँले जिल्लामा निर्वाचनको लागि आचारसंहिता पालना भएको ना नभएको हेर्नका लागि आयोगले छुट्ठै सयन्त्र बनाएको जानकारी दिदै दुई जना अनुगमन अधिकृत तोकिएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत दाहाल संयोजक हुने अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारीलाई सहसंयोजकका रुपमा राखिएको छ ।
“जिल्लामा आचारसंहिता उल्लंघन भएका घटना आए दुई जना अनुगमन अधिकृतलाई सूचना दिन सक्न्छि” प्रजिअ तामाङले भन्नुभयो ।
उहाँले भारतीय सवारी साधन प्रयोगलाई निषेध गरिएको उल्लेख गर्दै आचारसंहिता पालना नभए दण्ड र सजायको प्रावधान रहेको बताउनुभयो ।
सो बैडकमा नेपाली काङग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्टिय जनमोर्चा, राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतका प्रतिनिधि सहभागि हुनुहुन्थ्यो ।
सहभागिले निर्वाचन आयोगका विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो ।
