राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि घर बनाउन थालेको छ ।
विशेष अनुदान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत् लक्षित समुदायको छनौट गरी उनीहरुको नयाँ घर बनाउन सुरु गरेको हो । आर्थिकरूपले विपन्न समुदायका मानिसहरूलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं–८ धरमोतीकी गंगा विकलाई नयाँ घर पाउने भएपछि हर्षित हुनुहुन्छ । उहाँको परिवार अहिले धरमोतीमा कोठा भाडामा लिएर बस्दै आएको छ । टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको दुई कोठाको घरमा बस्न पाउने भएपछि गंगाको मुहारमा छुट्टै खुसी झल्किन्छ ।
गाउँपालिकाले दुई कोठे पककी घर बनाइदिने भएपछि उहाँले वर्षौदेखि अर्कैको घरमा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यताको अन्त्य हुनेछ । ‘सम्पतीको नाममा १२ धुर जग्गा छ । सासु आमा क्यान्सर पीडित हुनुहुन्छ । श्रीमानको मजदुरीले साँझ विहानको जोहो टरेको छ उहाँ भन्नुहुन्छ–‘भाडामा बस्दा कोठा विजुली वत्ती गरेर महिनाको रु दुई हजार खर्च हुन्छ ।
आफ्नै घर हुने भएपछि त्यो दुई हजार पनि बचत हुने भयो । आफ्नै घरमा बस्ने सपना पनि पूरा हुने भयो ।’ गंगा जस्तै घर नभएर अरुको घरमा बस्नु पर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरमा बस्दै आएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले घर बनाइदिन थालेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।
आज यहाँ गंगा विकको घरको शिलान्यस गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम सुरु भएको भन्दै संबिधान प्रदत आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयन गरेको बताउनुभयो ।
चालु आर्थिक वर्षमा गंगा विकलाई जस्तै ५२ वटा घर गाउँपालिकाले बनाइदिन थालेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, –‘यो वर्ष हामीले ५२ वटा घर बनाउँदैछौं । यो हाम्रो आफ्नै कार्यक्रम हो तर केन्द्र सरकारको सहयोग छ ।’ विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।
नयाँ घर पाउनेहरुमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरु रहेको गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले बताउनुभयो । उहाँले घरहरु गुणस्तरीय र भरपर्दो बनाउन निर्माणको जिम्मा पाएका ठेकेदारलाई निर्देशन समेत दिनुभयो ।
गाउँपालिकाका सहायक प्राविधिक दुर्गा केसीले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउने बताउनुभयो । उहाँका अनुसार विशेष अनुदानको रु २ करोड ८० लाखको लागतमा घरहरु निर्माण गरिनेछ । एउटा घरको लागत रु ५ लाख ३७ हजार ५५५ रहेको छ । त्यसमा बरण्डा, दुई वटा पक्की कोठा र छानो जस्ता पाताको हुनेछ । शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । तर शौचालयको सेफ्टी ट्यांकी भने घरधनीले बनाउनुपर्ने उहाँले बताउनुभयो ।
आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भवरभवानी निर्माण सेवा र सौगात कन्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का लिएको छ । भवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउने छन् ।
–––