नेपालगञ्ज । विद्यालयमा सुरक्षित सिकाईको वातावरण तय गर्न सरोकार भएकाले विभिन्न सुझाव दिएका छन ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा आज भएको छलफलमा भूकम्प र विपदका बेला विद्यालयमा अपनाउने रणनीतिक योजनालाई प्रभावकारी बनाउन जोड दिइएको छ ।
सो अवसरमा वृहद विद्यालय सुरक्षाका विषयमा अवधारणा प्रश्तुत गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपसचिव गोर्ख बहादुर थापाले शिक्षा क्षेत्रमा समग्र विद्यालय सुरक्षा, विपद उत्थानशिल कार्यक्रम गरेर विद्यालयलाई सुरिक्षत सिकाईका रुपमा हेरिनुपर्नेमा जोड दिनुभयो ।
भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) का अधिकृत नरेश निदालले नेपालगन्जको वडा नं ३ र ७ का १० विद्यालयमा जोखिमको अवस्थावारे सर्वेक्षण भएको जानकारी दिदै स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा वृहद विद्यालय सुरक्षा योजना लागू गर्न खोजिएको बताउनुभयो ।
उहाँले नीजि, सामुदायिक र मदरसा विद्यालयको भौतिक पूर्वाधारको अवस्था लगायतका विषयमा सर्वेक्षण भएको उल्लेख गर्नुभयो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी नेपालगन्जका गोर्वदनसिंह सम्झना, उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनौजिया, वडा नं ६ का वडाध्यक्ष समिरप्रताप शाह, परियोजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, प्राविधिक अधिकृत शिव सुवेदी लगायतले भूकम्पको पूर्व तयारीका विभिन्न पक्षका विषयमा वोल्नुभएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले करिव एक बर्षदेखि नेपालगञ्जमा विपदको पूर्व तयारीका विभिन्न विषयमा काम गरिरहेको छ । सो परियोजनाले पश्चिम नेपालमा भूकम्प जाने सम्भावना रहेको अध्ययनले देखाएको भन्दै पूर्व तयारी गरेको छ ।