नेपालगञ्ज । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन अगामी चैत आठ गते हुने भएको छ । यसअघि स्ववियू निर्वाचनको मनोनयन गर्ने समय २७ फागुन र ३ चैतमा निर्वाचनको मिति तोकिएको थियो ।
उम्मेदवारी मनोनयनको दिन विहान नौं विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा ताला लगाएपछि निर्वाचन अनिश्चित भएको थियो । क्याम्पस प्रमुख डा. लालमणी आचार्यको अध्यक्षता एवम् विभिन्न विद्यार्थी संगठन वीच भएको छलफलमा नौ विद्यार्थी संगठन ताला खोल्न सहमत भएको अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस सभापतिका उम्मेदवार माधव खत्रीले जानकारी दिनुभयो ।
आन्दोलनरत विद्यार्थी संगठन चैत आठमा निर्वाचन गर्न सहमत भएको उहाँले बताउनुभयो । क्याम्पस प्रशासन, निर्वाचन समिति, आन्दोलनरत विद्यार्थी संगठन, एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेपाल विद्यार्थी संघ लगायत सवै विद्यार्थी संगठन ८ चैतमा निर्वाचन गर्न सहमत भएका छन्,’ उहाँले भन्नुभयो ।
स्ववियू निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन माग गर्दागर्दै क्याम्पस प्रशासनले विद्यार्थीको विवरण चुहाएको आरोप लगाउँदै विद्यार्थी संगठनले तालावन्दी गरेका थिए । विद्यार्थीको विवरण चुहाउनेलाई कानून बमोजिम कारवाही गर्न पनि विद्यार्थी संगठनको माग थियो ।