बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक बैठक बसेको छ । नगरपालिकाका उपप्रमुख तथा बाल अधिकार समिति संयोजक रत्नकुमारी पाण्डेको अध्यक्षतामा तथा नगर प्रमुख श्री छविलाल थारुको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको हो ।
नगर बाल अधिकार समिति तथा सात वटा वडाका वडा बाल अधिकार समितिका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकमा स्थानीय तहमा बाल अधिकारको अवस्था, बाल संरक्षणका विद्यमान संयन्त्रहरूको समीक्षा गर्दै बालबालिकाको संरक्षण प्रणालीलाई थप प्रभावकारी, समन्वयात्मक र उत्तरदायी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको थियो ।
प्लान इनटरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सेफ फयुचर परियोजनाको सहयोगमा कार्यक्रम संचालन गरिएको हो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडा नं. २ का वडा अध्यक्ष रामफेरन थारु, वडा नं. ३ का नन्दलाल थारु, वडा नं. ४ का सीताराम योगी, वडा नं. ६ का झकबहादुर ओली क्षेत्री, वडा नं. ८ का नरबहादुर चन्द तथा वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष कैलाशपति थारुको सहभागिता रहेको थियो ।
त्यसैगरी, बाल अधिकार समिति सदस्य–सचिव उषा पुन, प्रहरी निरीक्षक विवेक भट्टाराई, शिक्षा अधिकृत कृष्ण थारु, स्वास्थ्य इन्चार्ज गोविन्द पौडेल, सामाजिक विकास संयोजक, सूचना प्रविधि अधिकृत जनकराम थारु लगायत सम्बन्धित नगरपालिका तथा वडा तहका संरचनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण बाल अधिकार समिति सदस्य–सचिव उषा पुनले गर्नुभएको थियो भने बैठकका एजेन्डा तथा स्थानीय बाल संरक्षण संयन्त्रलाई सुदृढ बनाउने विषयमा परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले सहजीकरण गर्नुभएको थियो। छलफलका क्रममा नगर तथा वडा बाल अधिकार समितिलाई नियमित बैठक, व्यवस्थित अभिलेखीकरण तथा प्रतिवेदन प्रणाली, बालबालिकाको विवरण संकलन तथा अद्यावधिक, जोखिममा रहेका बालबालिकाको प्रारम्भिक पहिचान र आवश्यक रेफरल तथा फलोअपमार्फत थप सक्रिय, कार्यशील र उत्तरदायी बनाउने विषयमा जोड दिइएको थियो ।
त्यसैगरी, बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, बालविवाह, लागुऔषध दुरुपयोग, मानव बेचबिखन तथा अन्य बाल संरक्षणसम्बन्धी जोखिमहरूबाट सुरक्षित राख्न स्थानीय तह, समुदाय तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा छलफल गरिएको थियो ।
बैठकमा परियोजनाका लक्ष्य तथा उद्देश्यबारे समेत छलफल गर्दै बालविवाह न्यूनीकरण, बाँकी वडाहरूलाई बालविवाहमुक्त घोषणा गर्ने प्रक्रियालाई तीव्रता दिने तथा बालविवाहमुक्त घोषणा भइसकेका वडाहरूमा नियमित अनुगमन, फलोअप र दिगोपनमा विशेष ध्यान दिने विषयमा जोड दिइएको थियो ।
सबै वडामा बाल क्लब तथा किशोरी समूहलाई स्थापना तथा सुदृढ गर्दै बालबालिका, किशोर किशोरी तथा युवाहरूलाई बाल संरक्षण, सचेतना र पैरवीका गतिविधिहरूमा अर्थपूर्ण सहभागिता र नेतृत्वको अवसर प्रदान गर्ने विषयलाई समेत प्राथमिकता दिइएको थियो। कार्यक्रमको समग्र व्यवस्थापन तथा समन्वयमा रामबहादुर थारुले सहयोग गर्नुभएको थियो।
जोखिममा रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण र रेफरल प्रणाली सुदृढीकरण
बैठकको महत्वपूर्ण निर्णयका रूपमा जोखिममा रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण, रेफरल तथा फलोअपका लागि व्यवस्थित र संस्थागत संयन्त्र विकास गर्ने सहमति गरिएको छ ।
यस संयन्त्रमार्फत बालविवाह, हिंसा, दुव्र्यवहार, शोषण, लागुऔषध दुरुपयोग, मानव बेचबिखन, विद्यालय छाड्ने अवस्था तथा अन्य बाल संरक्षण सम्बन्धी जोखिममा रहेका बालबालिकाको समुदाय तथा वडा तहबाटै पहिचान गरी व्यवस्थित अभिलेख राख्ने र आवश्यकताअनुसार सम्बन्धित सेवा प्रदायक तथा संरक्षण संयन्त्रमा समयमै रेफर गर्ने व्यवस्था सुदृढ गरिनेछ ।
वडा बाल अधिकार समितिले जोखिममा रहेका बालबालिकाको विवरण नियमित रूपमा अद्यावधिक गरी आवश्यक रेफरल तथा फलोअप गर्ने तथा नगर बाल अधिकार समितिले समग्र व्यवस्थापन, समन्वय, अनुगमन तथा जवाफदेहिताको प्रणालीलाई सुदृढ गर्ने सहमति गरिएको छ ।
यस प्रणालीले जोखिमको समयमै पहिचान, प्रभावकारी रेफरल, निरन्तर फलोअप र जवाफदेहितालाई थप मजबुत बनाउँदै आवश्यक संरक्षण तथा सेवामा बालबालिकाको समयमै पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
बाल संरक्षण र बालमैत्री स्थानीय शासन सुदृढीकरण
बैठकले बाँकी वडाहरूलाई बालविवाहमुक्त घोषणा गर्न ठोस कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्ने र बालविवाहमुक्त घोषणा भइसकेका वडाहरूमा नियमित अनुगमन तथा फलोअप गर्ने निर्णयसमेत गरेको छ ।
वडा बाल अधिकार समितिहरूले अनिवार्य रूपमा नियमित बैठक सञ्चालन गर्ने तथा बैठकका निर्णय, बाल संरक्षणसम्बन्धी समस्या, रेफरल र फलोअपका कार्यहरूको व्यवस्थित अभिलेख राख्ने विषयमा समेत सहमति भएको छ ।
त्यसैगरी, बडघर सञ्जाल, धार्मिक सञ्जाल, बाल तथा युवा क्लब, शिक्षक तथा अन्य समुदायमा आधारित संरक्षण संयन्त्रहरूलाई औपचारिक सूचना, समन्वय र सहकार्यका माध्यमबाट थप सक्रिय तथा परिचालन गर्ने विषयमा समेत निर्णय गरिएको छ ।
बैठकमा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरूबारे समेत छलफल गरिएको थियो। ती सूचकहरूमध्ये बालविवाह न्यूनीकरण तथा रोकथाम महत्वपूर्ण विषयका रूपमा रहेको उल्लेख गर्दै बालमैत्री स्थानीय शासनलाई थप प्रभावकारी बनाउन नगर कार्यपालिकामार्फत आवश्यक पहल गरी सम्बन्धित कार्यक्रम तथा गतिविधिहरूलाई नगरपालिकाको योजना तथा कार्यान्वयन प्रक्रियामा समावेश गर्ने विषयमा सिफारिस गर्ने सहमति गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रबेजअली सिद्दिकीले बताउनुभयो ।
हरेक बालबालिकाका लागि साझा प्रतिबद्धता

बैठकले स्थानीय सरकार, वडा तहका संरचना, सुरक्षा निकाय, सेवा प्रदायक, समुदायमा आधारित संरक्षण संयन्त्र तथा विकास साझेदारहरूबीचको समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै बाल अधिकार समितिहरूको नियमित र प्रभावकारी सञ्चालन, बाल संरक्षणसम्बन्धी समस्याको पहिचान तथा प्रतिवेदन, समयमै रेफरल र निरन्तर फलोअप सुनिश्चित गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ ।
जोखिममा रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण, रेफरल तथा फलोअपका लागि व्यवस्थित संयन्त्रको स्थापना स्थानीय बाल संरक्षण प्रणालीलाई थप मजबुत बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ । समग्रमा, यो बैठक बारबर्दिया नगरपालिकामा समन्वयात्मक, उत्तरदायी, प्रभावकारी र बालमैत्री स्थानीय बाल संरक्षण प्रणाली निर्माण गर्ने दिशामा महत्वपूर्ण साझा मञ्चका रूपमा स्थापित भएको छ ।
बाल संरक्षण कुनै एक संस्था वा निकायको मात्र जिम्मेवारी होइन—यो हामी सबैको साझा दायित्व र प्रतिबद्धता हो। स्थानीय सरकार, समुदाय, परिवार, बालबालिका तथा विकास साझेदारहरूबीच बलियो समन्वय, जवाफदेहिता र दृढ इच्छाशक्तिका साथ अघि बढ्न सकेमा प्रत्येक बालबालिकालाई सुरक्षित, सम्मानजनक र अवसरयुक्त वातावरण प्रदान गर्न सकिन्छ ।