नेपालगन्ज ८ मसिंर । नेपालगन्ज कनक्लेभमा समाज, रोजगारी, उद्यमशिलता, पर्यटन, खेलकुद, समाज, शिक्षालगायतका विषयमा मन्थन भएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा सम्बद्ध क्षेत्रका जानकारहरुले मन्थनमा भाग लिएका छन् । ६ वटा सत्रमा भएको कन्क्लेभमा मदन पुरस्कार २०७९ का विजेता विवेक ओझादेखि राजेश हमालसम्म सहभागी हुनुहुन्थ्यो ।
खेलकुदसँग शिक्षा र स्वाथ्यको कडी किन टुट्यो ?
कनक्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी ः शिक्षा, स्वाथ्य र खेलकुद्’ मा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय सन्चालक शशी स्वार, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, म्याराथन धाविका सन्तोषी श्रेष्ठ सहभागी थिए । सेसनको मोडेरेसन पत्रकार प्रकाश तिमिल्सेनाले गर्नुभएको थियो ।
नीतिगत रुपमा कहाँ चुक्यौँ ?
कनक्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी शिक्षा, स्वाथ्य र खेलकुद्’ मा बाल्दै कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेलले राजतन्त्रपछि खेलकुदमा नीतिगत परिवर्तन त भयो र परिणममूखि बनाउन नसकिएको बताउनुभयो । खेलकुदमा राजनीति हाबी भयो ।
६६ सालमा खेलकुद नीति आएको तर समयसापेक्ष परिमार्जन नभएको उनको भनाइ छ । ‘ऐन त आयो तर कार्यन्वयन फितलो छ । आवश्यक साधन स्रोत र कार्ययोजना छैन । बजेटको अभाव छ । अहिलेपनि खेलकुदमा ०.५ प्रतिशतभन्दा कम छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहले पनि खेलकुदलाई शिक्षासँग जोड्ने काम गर्न सकेका छैनन् । बजेटबाट आउटपुट राम्रो निकाल्न सकेका छैनौँ ।’
उहाँले आफू खेलकुद क्षेत्रको जिम्मेवारीमा हुँदा पाँच ‘प’ मा केन्द्रत होऔँ भनेर सुरु गरेको बताउनुभयो । ‘पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण, प्रतिभाको खोजी, प्रोत्सानका पक्षमा प्राथमिकता दिन सकेनौँ भने खेलकुदको विकास हुन सक्दैन । यी पाँच प लाई केन्द्रित गरौँ भनेर सुरु गरेका थियौँ । तर स्रोत पाउन सकेनौँ । निजी क्षेत्रलाई पनि आकर्षित गर्न सकेनौँ ।’
खेलकुदलाई आर्थिक र पर्यटनसँग पनि जोड्न जरुरी रहको उनको भनाई छ । सबभन्दा कमजोर पाटो कार्यान्वयनको भएको भन्दै उहाँले प्रष्ट मार्गदर्शन र कार्यान्वयन नहुँदा खेलकुदले फड्को मार्न नसकेकोमा जोड दिनुभयो । ‘खेलकुदलाई शारीरिक मात्रै होइन, मानसिक, सामाजिक र भावनात्मक विकास गराउँछ । तर, यसलाई हामीले आत्मसात गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो ।
उहाँले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मा नेपालगञ्जमा धेरै पूर्वाधार बनेको तर ती पूर्वाधार खण्डहरमा परिणत भएका उल्लेख गर्दै उहाँले प्रतियोगिता र प्रशिक्षण निरन्तर भएमा मात्रै पूर्वाधारको संरक्षण हुने दाबी गर्नुभयो । खेलकुदको विकास गर्ने हो भने जरैबाट लाग्नु पर्छ ।
राष्ट्रपति रनिंग शिल्ड खेलाडी उत्पादनको थलो थियो । तर वर्षमा एउटा प्रतियोगिताले मात्रै पुग्दैन । प्रतियोगिताबाट आएका खेलाडीलाई पनि निरन्तर प्रशिक्षण हुनुपर्छ । ठोस कार्ययोजनासहित तिनै तहका सरकारले प्रतियोगिता गराउन सकेमा पूर्वाधारको संरक्षण हुन्छ,’ उहाँले भन्नुभयो ।
खेलकुद र शिक्षालाई कसरी जोड्ने ?
विद्यालय सन्चालक शशी स्वारले सरकारी र संस्थागत दुवै विसिमका विद्यालयमा खेलकुद शिक्षकको योग्यताको मापदण्ड पालना नभएको र अनुगमन पनि नहुने गरेको बताउनुभयो । खेलमा बालबालिकालाई प्रोत्सान गर्ने बित्तिकै अभिभावकहरु पढाईमा असर पर्छ भन्छन् ।
अभिभावकहरु खेललाई लिएर नकारात्मक धारण राख्छन् । नपढ्ने विद्यार्थीले मात्रै खेल्ने हो, बच्चा बिग्रन्छ भन्ने धारणा राख्छन् । चार्म छैन भनेर हो कि ? एक दुईटा कारणमात्रै होइन धेरै कारणले खेलकुदलाई प्राथमिकता दिन सकेका छैनौँ,’ उहाँले भन्नुभयो ।
अभिभावकले खेलेर के हुन्छ ? भन्ने प्रश्न गर्ने गरेको बताउँदै खेलकुदले बालबालिकाको सर्वांगिण विकास हुने र खेलमा पाइने सम्मान र खेलेर व्यक्तिले पाउने जीवउपयोगी ज्ञानका बारेमा अभिभावकहरुलाई बुझाउन जरुरी रहेको बताउनुभयो ।
खेलकुद र स्वास्थ्यको सम्बन्ध
मुटुरोड विशेषज्ञ डा. विकास नेपालले स्वास्थ्यलाई ठिक राख्नका लागि र नसर्ने रोगबाट बच्नका लागि खेलकुद जरुरी रहेको बताउनुभयो । अस्वस्थ व्यवहारले लाग्छन् । नसर्ने रोगबाट विश्वमा वार्षिक ४ करोड मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको ७५ प्रतिशत हो,’ उहाँले भन्नुभयो । बालबाबालिकालाई मोडलको रुपमा व्यवहार गरेर देखाउनुपर्ने उहाँको भनाइ छ ।
कम्तिामा हप्ताको पाँच दिन प्रत्येक दिन ३० मिनेट शारीरिक व्यायाम गर्न जरुरी रहेको उनको भनाइ छ । ‘हिडेर पुग्न सकिने ठाउँमा गाडीको प्रयोग नगरौँ । बरु साइकल चढौँ । रातो र बोसोयुक्त मासु कम खानु पर्छ । पानी धेरै खानु पर्छ । धुम्रपान गर्नु हुँदैन । मुुटुजन्य रोग ५० वर्षमाथिकालाई हुन्छ भन्ने थियो, अहिले १८ वर्षकालाई पनि हार्टअट्याक भइरहेका छन्,’ उहाँले औँल्याउनुभयो ।
विद्यालयमा खेलकुद कति जरुरी ?
म्याराथन धाविका सन्तोषी श्रेष्ठले आपजीवन जिउनलाई नै विद्यालय जीवनको खेलकुदले भूमिका खेलेको बताउनुभयो । ‘विद्यालयमा खेलकुद खेल्न नपाएको भए म अहिलेको अवस्थामा पुग्ने थिइन । सोच्ने क्षमतामा पनि विद्यालय जीवनको खेलकुदले ठूलो सहयोग गर्छ,’ उहाँले भन्नुभयो ।
खेलकुदमा बालबालिकालाई प्रोत्साहन गर्न अभिभावको भूमिका प्रमुख रहेको उनको बुझाई छ । अभिभावकले सहयोग नगर्दा विद्यालयलाई पनि खेलकुदमा प्राथमिकता दिन नसकिरहेकामा उहाँले पनि सही थप्नुभयो् । उहाँले भन्नुभयो, ‘मलाई पनि अभिभावकले पढाईमा ट्यालेन्ट भएकोले पढ्दैन भन्नुहुन्थ्यो ।
मैले चाहीँ यसलाई गलत साबित गर्छुं भनेर लागें । तर सबै बालबालिकाले यस्तो गर्न सक्दैनन् । त्यसकारण अभिभावकले बालबालिकालाई निरुत्साहित नगरौँ ।’ खेलकुदलाई आर्थिक पाटोबाट मात्रै नहेरी बालबालिकाको भावनात्मक सबलता, समाज र देशका लागि हो भनेर बुझ्नुपर्ने उनले बताइन् । ‘स्वास्थ्यका लागि र जीवन जिउने कलाका लागि पनि हो । संस्कारी छोराछोरी बनाउन, जीवन र जगत बुझेको मान्छे बनाउन खेलकुद जरुरी छ,’ उहाँले भन्नुभयो ।